खेल

एजेण्डामा प्रवेश नै नगरी एन्फा कार्यसमिति बैठक स्थगित

फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ। ललितपुरस्थित एन्फा मुख्यालयमा बिहीबार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो।  

दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए। एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरि सुरु भएको थियो। ढिलो गरी सुरु भएको बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए। पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक डाकिएको हो।

यसअघि गत सोमबारका लागि तय भएको सो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ  अचानक बिरामी परेपछि स्थगित भएको थियो। निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचीत परेको नयाँ नेतृत्वको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ।

बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि  छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ। प्रमुख कार्यकारी अधिकृत (सिइओ), तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ।

चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिष्पर्धामा उत्रिएका थिए। साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवारलाई चुनेको थियो।

प्रकाशित: ५ श्रावण २०७९ ०५:३८ बिहीबार

अखिल नेपाल फुटबल संघ