खेल

साफ जितेर एएफसीमा छनोट हुने लक्ष्य

भारतमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपमा नेपालको लक्ष्य साफ जितेर एएफसी छनोट हुने रहेको छ। प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शुक्रबार भारततर्फ लाग्नेछ।

देशैभरबाट खुला प्रतिस्पर्धा गराई अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु-२० टोलीको निर्माण गरेको हो। कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो। सोही छनोटबाट मुख्य प्रशिक्षक मेघराज केसीले २३ खेलाडीको टुङ्गो लगाइसकेका छन्। ललितपुरस्थित एन्फा कम्पलेक्समा उनीहरूले राम्रो नतिजाको लक्ष्यसहित अभ्यासलाई तीव्रता दिएका थिए। अहिले टोली मजबुत भइसकेको छ। मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यसबाट आपूm सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनेमा आशावादी भएको बताए।

‘उमेर समूहको खेल कोरोना महामारीले नहुँदा छनोट गर्न कठिन भए पनि खुला प्रतिस्पर्धाबाट टोली निर्माण भएको छ,’ मुख्य प्रशिक्षक केसीले भने, ‘शून्य लेभलबाट खेलाडी छनोट गर्दा पनि टोली मजबुत बनेको छ। बनेको टोलीलाई साफ यु-२० को प्रतियोगितामा खेलाएर अनुभव दिलाउनुपर्ने बाध्यता छ। राम्रो नतिजा निकाल्नेमा म विश्वस्त छु।’

टोली निर्माण गर्न मुख्य प्रशिक्षक मेघराजले ७ सय खेलाडीबाट सुरुआतमा ४१ खेलाडी छनोट गरेका थिए। त्यसपछि ३५ खेलाडीको सूची तयार गरेका प्रशिक्षक केसीले सोमबार २३ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेका थिए।

कोरोना महामारीका कारण समूहका कार्यक्रम नहुँदा अहिलेको यु-२० समूहलाई सहयोगी टोलीले खुला प्रतिस्पर्धाबाट लिएको थियो। छनोटमा केही सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेका अनुभवी खेलाडीसहित ‘बी’, ‘सी’ डिभिजन खेलेको खेलाडीहरूको संयोजन भएको छ। नेपाली टोलीका सदस्य रहेका युवा खेलाडी आयुष घलानले टोलीको लक्ष्य बल पोसेसनलाई अधिनमा राखेर उत्कृष्टभन्दा उत्कृष्ट खेल प्रदर्शन गर्दै साफ जितेर एएफसी छनोट हुने बताए।

‘हाम्रो टोलीले राम्रो तयारी गरेको छ। यो टोलीले अन्तर्राष्ट्रिय अनुभव नलिए पनि अभ्यासमा राम्रो छ,’ टोली सदस्य आयुष घलानले भने, ‘उत्कृष्टभन्दा उत्कृष्ट खेल खेलेर साफ जित्ने हो र एएफसी छनोटमा स्थान बनाउने हो।’

यस्तै सुनसरीबाट यु-२० टोलीमा अटाएका अमर श्रेष्ठले अभ्यास राम्रो भएको बताउँदै प्रतियोगिताको सहभागिता राम्रो हुने बताए।

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन्। च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ। उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ। भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ। नेपालले दोस्रो खेलमा श्रीलंकासँग जुलाई २७ मा खेल्ने तालिका छ। त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिस्पर्धा गर्नेछन्। 

प्रकाशित: ५ श्रावण २०७९ ०२:११ बिहीबार

साफ जितेर एएफसीमा छनोट हुने लक्ष्य देशैभरबाट खुला प्रतिस्पर्धा