खेल

पाकिस्तान सफिकको शतकले जितनजिक

श्रीलंकाविरुद्ध रन लिँदै पाकिस्तानका अब्दुल्लाह सफिक (दायाँ) र बाबर आजम।

ओपनर अब्दुल्लाह सफिकको शतकप्रेरित पाकिस्तान मंगलबार श्रीलंकाविरुद्धको पहिलो टेस्टमा जितको संघारमा पुगेको छ।

चौथो दिनको खेल समाप्तिमा पाकिस्तान २२२–३ मा खेलिरहेको छ। जितका लागि ३ सय ४२ रनको लक्ष्य पाएको पाकिस्तान शृंखलामा अग्रता बनाउन मात्र १ सय २० रनले पछि छ। सफिक अविजित १ सय १२ र मोहम्मद रिजवान अविजित ७ रनमा खेलिरहेका छन्। सफिकले २ सय ८९ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

यसअघि ३२९-९ बाट चौथो दिनको खेल सुरु गरेको श्रीलंका दोस्रो इनिङमा ३ सय ३७ रनमा सीमित भएको थियो। तेस्रो दिनको समाप्तिमा अविजित ८६ रन जोडेका चण्डीमलले थप ८ रन जोडे। उनले एक सय ३९ बलमा ५ चौका र २ छक्काको मद्दतमा अविजित ९४ रन बनाए। उनले पहिलो इनिङमा पनि अर्धशतक प्रहार गरेका थिए।

चण्डीमलको दोहोरो शतकमा श्रीलंकाले गत साता दोस्रो टेस्ट १ इनिङ र ३९ रनले जित्दै अस्ट्रेलियाविरुद्ध २ टेस्टको शृंखला १-१ को बराबरीमा समाप्त गरेको थियो। पहिलो टेस्ट श्रीलंकाले १० विकेटले हारेको थियो।

पाकिस्तानका नवाजले ५, यासिरले ३ तथा हसन अली र नासिम शाहले समान १ विकेट लिए। ३ सय ४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानका लागि ओपनर सफिक र इमाम उल हकले ८७ रनको साझेदारी गर्दै पाकिस्तानलाई गतिलो सुरुआत दिलाएका थिए।

इमान उल हकले निरोसान डिकबेलाबाट स्टम्पिङ हुनुअघि ७३ बलमा ३ चौकाको मद्दतमा ३५ रन जोडे। त्यसपछि ब्याटिङका लागि आएका अजहर अलीले भने सम्हालिएको प्रदर्शन गर्न सकेनन्। उनले मात्र ६ रन जोडे। अलीलाई प्रभात जयसूर्याले धनञ्जय डी सिल्भाबाट क्याच गराएका थिए। तेस्रो विकेटका लागि सफिक र कप्तान बाबर आजमले १ सय १ रनको महत्त्वपूर्ण साझेदारी गरेसँगै पाकिस्तान सहज जिततर्फ अघि बढेको हो।

जयसूर्याको बलमा बोल्ड हुनुअघि बाबरले १ सय ४ बलमा ४ चौका र १ छक्काको मद्दतमा ५५ रनको योगदान गरे। बाबरले पहिलो इनिङमा १ सय १९ रन जोड्दै टोलीको संकट टारेका थिए।

श्रीलंकाले पहिलो इनिङमा २ सय २२ रन जोडेको थियो भने पाकिस्तान पहिलो इनिङमा २ सय १८ रनमा सीमित भएको थियो। श्रीलंकाले पहिलो इनिङमा ४ रनको अग्रता लिएको थियो।

प्रकाशित: ४ श्रावण २०७९ ०१:५५ बुधबार

पाकिस्तान सफिक शतकले जितनजिक