खेल

जिम्न्यास्टिकलाई खेल सामग्रीकै अभाव

पोखरामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ। राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिम्न्यास्टिकलाई भने सामग्री जुटाउनै सकस परेको छ। राष्ट्रिय प्रतियोगिताअन्तर्गत जिम्न्यास्टिकमा महिला दुई र पुरुषतर्फ छ इभेन्टमा प्रतिस्पर्धा हुँदै आएको छ।  

तर आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ फ्लोर म्याट र भल्टिङ हर्स र पुरुषतर्फ चार इभेन्ट फ्लोर म्याट, भल्टिङ हर्स, प्यारलल बार, पोमेल हर्समा प्रतिस्पर्धा गराइएको थियो। बर्सेनि सामानको अभावसँगै जिम्न्यास्टिकका इभेन्ट घट्दै गएका छन्। नेपालगन्जमा आयोजित आठौं संस्करणको प्रतियोगितामा पुरुषतर्फ होरिजेन्टल बार र रोमन रिङ्सको इभेन्टलाई सामान नभएकै कारण समावेश नगरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिनाले बताए। ‘सामान केन्द्रमा पनि छैन। भएको सामानले इभेन्ट गर्ने हो। सामानकै अभावले इभेन्ट घटाउँदै गएको अवस्था छ,’ उनले भने।

जिम्न्यास्टिकका सबै इभेन्टका प्रतिस्पर्धा राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश नै गरिएको छैन। उनका अनुसार महिला र पुरुषको १०/१० इभेन्टमा प्रतिस्पर्धा हुने भए पनि अहिले कम मात्रै इभेन्ट समावेश गरिँदै आएको छ। राष्ट्रिय प्रतियोगिताको लागि आवश्यक सामान केन्द्रबाटै ल्याउनुपर्ने बाध्यता रहेको उनको भनाइ थियो। ‘हामीसँग सामान छैैन। केन्द्रमा पनि केही इभेन्टका सामान छैनन्। भएका सामान ट्रकमा हालेर ल्याउने हो। गेम सकिएपछि ट्रकमै हालेर फिर्ता लैजान्छन्,’ उनले भने। सामानकै अभावमा खेलाडीहरूले नियमित प्रशिक्षण समेत गर्न पाउने अवस्था छैन। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहँदा पोखरामा फ्लोर म्याट मात्रै छ।  

साईड हर्स भने जीर्ण छ। २०४५ सालमा आयोजना गरिएको जिम्न्यास्टिक प्रतियोगितामा प्रयोग गरिएको साईड हर्स प्रयोगविहीन छ। ‘जिम्न्यास्टिकका लागि हल पनि छैन। सामान पनि छैन,’ कास्की जिल्ला जिम्न्यास्टिक संघका अध्यक्ष योगेन्द्र गुरुङले भने, ‘वर्षौंपछि फ्लोर म्याट संघले प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालयको बजेट निकासा गरिदिएपछि ल्यायौं। त्यसैमा अहिले प्रशिक्षण गराइएको छ।’ प्रदेश सरकारले यो आर्थिक वर्षका लागि २ लाख रूपैयाँ छुट्ट्याइदिएको छ। त्यही बजेटबाट जिम्न्यास्टिकको आवश्यकताअनुसारको सामान ल्याइने अध्यक्ष गुरुङको भनाइ थियो।  

उनका अनुसार खेलसामग्रीकै अभावमा पोखरा रंगशालाभित्र जिम्न्यास्टिकको प्रशिक्षण हुनै सकेको थिएन। प्रदेश सरकारले दिएको बजेटबाटै १२ थान फ्लोर म्याट ल्याई सिकाउन सुरु गरिएको तीन महिना भइसकेको छ। ‘फ्लोर म्याट आएपछि प्रशिक्षण सुरु गरिएको हो।’ जिम्न्यास्टिकका स्वयंसेवक प्रशिक्षक थमन थापाले भने, ‘त्यही म्याट पनि नहँुदा रंगशालाभित्र प्रशिक्षण गराउन सकिएको थिएन।’ उनका अनुसार संघकै पहलमा अब केही सामान आएपछि जिम्न्यास्टिक प्रशिक्षणलाई अझै सबल बनाउने विश्वास छ। प्रशिक्षक थापाले जिम्न्यास्टिकको प्रशिक्षण पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा गराउँदै आएका छन्। 

प्रकाशित: ३ श्रावण २०७९ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App