खेल

साख जोगाउने चुनौती

काठमाडौं– नेपाली फुटबल इतिहासकै सबभन्दा कठिन मोडमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भ्रष्टाचारको अभियोगमा १० वर्ष प्रतिवन्ध लगाएको छ ।लामो समयदेखि आफै विवादको भुमरीमा जाकिएको एन्फा अध्यक्षमाथिको कार्वाहीपछि पनि एकजुट हुन सकेको छैन । राष्ट्रिय फुटबलको सर्वोच्च निकायका पदाधिकारी दुई चिरामा विभाजित छन् । तीन उपाध्यक्षसहितको एउटा समुह संघ नेतृत्वविरुद्ध एकोहोरो खनिएको छ । राष्ट्रिय टोलीका कप्तानसहित पाँच खेलाडी खेल मिलोमतोको अभियोगमा अदालतमा मुद्धा खेपिरहेका छन् । एसियाली फुबल महासंघ (एएफसी) पाँच खेलाडीलाई आजीवन प्रतिवन्ध लगाइसकेको छ । पाँच बाहेक पनि अरु केही मिलोमतो काण्डमा मुछिने दावी गर्नेहरु धेरै छन् ।

२००४ मा पाकिस्तानको इस्लामावादमा सम्पन्न दक्षिण एसियाली खेलकुद (तत्कालिन साफ) को फुटबलमा भुटानसँग गोलरहित बराबरीमा रोकिएपछि नेपाल सेमिफाइनल प्रवेशबाट बञ्चित भएको थियो । मैदानभित्र सम्भवत नेपाली फुटबलको सबभन्दा कमजोर नतिजा त्यही थियो । १९ वर्षमुनिको टोलीले केही महिनाअघि सातदोबाटोमा उचालेको साफ यु–१९ च्याम्पियनसिपको उपाधि वाहेक नेपालले कुनै प्रतियोगिता नजितेको २२ वर्ष भइसकेको छ । लगातारको हार र भुटानसँग गोलरहित बराबरीमा रोकिँदा पनि नभोगेको संकटमा अहिले नेपाली फुटबल फसेको छ ।

मैदानका हरेक कमजोर नतिजामा खेलाडीलाई दोष लगाउने परम्परा नेपाली फुटबलमा थिएन । खेल हारे पनि खेलाडीको प्रदर्शन भने सधै तारिफको हकदार बन्ने गथ्र्यो । कमजोरी केलाइन्थ्यो त केवल एन्फा नेतृत्व र प्रशिक्षकको । तर पहिलो पटक खेलाडीमाथि औला उठेको छ, त्यो पनि खेल मिलोमतोको । नेपालमा खेलाडीलाई खलनायकका रुपमा पहिलो पटक प्रस्तुत गरिएको छ । खेलाडीले सधै देशका लागि मरिमेटेर खेल्छन् भन्ने आम समर्थकको विश्वासमा गम्भिर धक्का लागेको छ ।

यही कठिन परिस्थितीमा राष्ट्रिय टोलीले बुधबार श्रीलंकासँग खेल्दै एउटा महत्वपूर्ण प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाली फुटबलले उपाधि आश गर्ने प्रतियोगिता साफ च्याम्पियनसिपका लागि कप्तान सागर थापा, उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापालगायत थुप्रै नियमित साथीहरुको अनुपस्थितीमा राष्ट्रिय खेलाडीहरु भारतको केरालामा तयारी गरिरहेका छन् । सागर, सन्दिप र रितेश मिलोमतो काण्डमा मुद्धा खेपिरहेका छन् । उनीहरुसँगै राष्ट्रिय टोलीका पूर्व खेलाडीद्वय अन्जन केसी र विकाससिंह क्षेत्री पनि अदालतमै छन् ।

त्यसोत केही महिनाअघि पुनेमा भारतसँग गोलरहित बराबरी नतिजा निकालेको २३ सदस्यीय टोलीबाट अहिले अनुपस्थित हुने सागर, सन्दिप र रितेशमात्र होइनन् । बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सले असोजमा सम्पन्न राष्ट्रिय लिगबाट ३९ हुँदै २० खेलाडीको अन्तिम छनोट गर्दा पुने भ्रमणमा रहेकामध्ये ९ जना अनुपस्थित रहे । स्ट्राइकरद्धय भरत खवास र जुमानु राईसहित भरत शाह, भोलानाथ सिलवाल, विश्वास श्रेष्ठ र सुशील केसी पनि साफ च्याम्पियनसिपको नेपाली टोलीमा छैनन् । उनीहरुको सट्टा अमृत चौधरी, जितेन्द्र कार्की, आदित्य चौधरी, हेमन तामाङ, योगेश गुरुङ र नवीन लामाले राष्ट्रिय टोलीमा स्थान भेट्टाएका छन् । सागरको अनुपस्थितीपछि अनिल गुरुङले कप्तानका रुपमा टोलीको नेतृत्व गर्ने भएका छन् ।

तर खेल मिलोमतो प्रकरण तथा एन्फा अध्यक्षमाथिको कार्वाहीले नेपाली फुटबल चरम विवादमा तानिएको छ । अझ खेलाडीमाथिको अभियोगले त साचो अर्थमा नेपाली फुटबललाई कठिन मोडमा ल्याएको छ । खेलाडीको प्रतिवद्धतामाथि नै प्रश्न उठेकाले पनि यो प्रतियोगिताको महत्व जित र हारभन्दा माथि छ । देशको समग्र फुटबल भविश्य अन्योलमा रहेका बेला त्यसलाई सही ट्रयाकमा फर्काउने जिम्मेवारी केरालामा रहेका २० खेलाडीमाथि रहेको छ ।

साफ च्याम्पियनसिप ओजेम्सका लागि नेपाली टोलीको प्रशिक्षकका रुपमा पहिलो हुनेछ । नेपालले यही प्रतियोगिताको तयारीका लागि ढाकामा बंगलादेशविरुद्ध खेलिएको मैत्रीपूर्ण खेलमा १–० को पराजय भोगिसकेको छ । त्यसैले ओजेम्सले आफूलाई प्रमाणित गर्न प्रतियोगितामा भरसम्भव प्रयास अवस्य गर्नेछन् ।

नयाँ स्वरुपका साथ गएको टोलीमाथि हार्न नपाउने एकखालको मानसिक दबाब छ । भावनाबाट बढि डोहोरिने नेपाली समर्थकले स्वभाविक प्रदर्शनबाट पराजित भए पनि खेललाई मिलोमतोको ट्याग भिराउने सम्भावना कम छैन । तर टिमले कठिन मोडमै देशका फुटबल भविश्य जोगाएका उदाहरण प्रसस्त छन् । २००६ को विश्वकपअघि इटालियन फुटबल मिलोमतोको ठूलै दलदलमा फसेको थियो । विश्वकप खेल्ने टोलीमा सबभन्दा बढि खेलाडी दिने क्लबहरु युभेन्ट्स, एसी मिलानजस्ता टोलीमाथि मिलोमतोका कारण रेलिगेसन र अंक खोस्नेजस्ता कठोर कार्वाही भएका थिए । जर्मन विश्वकपमा इटालीको प्रतिनिधित्व गर्ने अधिकांस खेलाडी मिलोमतोमा कुनै न कुनै ढंगले जोडिएका थिए । इटालीको फुटबल भविश्य सधैका लागि सकिएको भविश्यवाणी भएको थियो । तर टोलीले त्यही इख जर्मनीका मैदानमा देखाउँदा इटालीले विश्वकपको उपाधि उचाल्यो र त्यहाँको फुटबलले जीवनदान पायो । अनिल गुरुङको नेतृत्वमा रहेको टोलीले केरालामा इटालियन टोलीको त्यही प्रतिवद्धताबाट प्रेरणा लिने हो भने नेपाल सिनियर स्तरमै २२ वर्षपछि उपाधि भित्रयाउन पनि सक्षम छ ।

प्रकाशित: ७ पुस २०७२ २१:०८ मंगलबार