खेल

लज्जापूर्ण ब्याटिङले फराकिलो हार

लज्जापूर्ण ब्याटिङ प्रदर्शन गरेको नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गत आइतबार घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटको फराकिलो हार बेहोर्दै त्रिकोणात्मक शृंखलामा निराशाजनक अन्त्य गरेको छ।

नेपालले शृंखलाको अन्तिम खेलमा पनि खराब ब्याटिङलाई निरन्तरता दिँदा फराकिलो हार बेहोर्‍यो। ग्लास्गोस्थित टिटवुडमा पहिले ब्याटिङ गरेको नेपाल ३५.५ ओभरमा १ सय २८ रनमै समेटियो। ओपनर आसिफ शेखले ४० रन जोड्दा दशौं नम्बरमा ब्याटिङ गर्न आएका कप्तान सन्दीप लामिछानेले २२ रन बटुल्दै इनिङ उकास्ने प्रयास गरे। अन्य सबै ब्याट्सम्यान सस्तैमा आउट भए। स्कटल्यान्डका हेम्जा ताहिरले चार र मार्क वार्टलोले तीन विकेट लिए।

१ सय २९ रनको झीनो लक्ष्य स्कटल्यान्डले १ सय ८६ बलअगावै मात्र दुई विकेटको क्षतिमा पूरा गर्‍यो। स्कटल्यान्डका कलुम म्याकलिओडले ६४ रन जोड्दा कायल कोट्जर ४४ रनमा अविजित रहे। नेपालको बलिङमा सन्दीप र सोमपाल कामीले १/१ विकेट लिए।

त्यससँगै स्कटल्यान्डको शृंखलामा नेपालले चार खेलमध्ये एक खेलमा मात्र जित निकाल्दा बाँकी तीन खेलको नतिजा सुम्पियो। स्कटल्यान्डसँग पहिलो पटक कुनै पनि फरम्याटको क्रिकेटमा जित निकालेको नेपालले बाँकी तीन खेलमा भने निराशाजनक ब्याटिङ गर्‍यो। शृंखलाभर नेपाली ब्याट्सम्यानले धैर्यतापूर्वक ब्याटिङ गर्न नसक्दा निराशाजनक नतिजा सामना गर्नु पर्यो।

नेपालका अनुभवी ब्याटर दीपेन्द्रसिंह ऐरी, क्षमतावान् युवा ब्याट्सम्यान रोहित पौडेल र देव खनालको प्रदर्शन निकै निराशाजनक रह्यो। ओपनर कुशल भुर्तेलले पनि शृंखलाभर बिर्सनलायक ब्याटिङ गरे। कुशलले चार खेलमा कुल ५७ रन जोडे। यस क्रममा उनी पहिलो दुई खेलमा समान २७ रन बनाउँदा तेस्रो खेलमा शून्य र चौथो खेलमा ३ रनमै पवेलियन फर्किए।

शृंखलाभर दुई ब्याट्सम्यान दाजुभाइ आरिफ र आसिफ शेखले मात्र अर्धशतक बनाए। यस शृंखलाभर ओपनर आसिफको प्रदर्शन तारिफयोग्य नै रह्यो। चार खेलमा १ सय ५९ रन जोडे। यो नै नेपालका ब्याट्सम्यानले यस शृंखलामा जोडेको सर्वाधिक रन हो।

नामिबियाविरूद्धको पहिलो खेलमा ५० रनमा नटआउट रहेका आरिफको ब्याटिङ त्यसपछि भने चल्न सकेन। त्यसपछि उनी १ रन, ४ रन र शून्यमा आउट भए। तीन खेलमा अवसर पाएका अलराउन्डर आदिल आलमले पनि त्यसको सदुपयोग गर्न सकेनन्। नामिबियाविरुद्धको एक खेलमा प्रयोग गरिएका अलराउन्डर पवन सर्राफले पनि प्रभाव जमाउन सकेनन्।

शृंखलामा निकै खराब नतिजा सामना गरेको नेपालको बलिङ भने तारिफयोग्य रह्यो। अन्तिम खेलबाहेक बाँकी तीन खेलमा नेपालले पहिले बलिङ गरेको थियो। यी तीनै खेलमा नेपाली बलरले विपक्षीलाई सस्तैमा रोक्दै अलआउट गर्न सफल भए।

सन्दीप लामिछानेको कप्तानीमा नेपालले खराब नतिजा बेहोरे पनि बलिङमा उनको प्रदर्शन उत्कृष्ट नै रह्यो। उनले चार खेलमा कुल ११ विकेट लिए। नामिबियासँगको दुवै खेलमा चार विकेट लिएका सन्दीपले स्कटल्यान्डसँगको पहिला खेलमा दुई र दोस्रो खेलमा एक विकेट लिए।

अन्तिम खेलमा उनको बलिङ खासै चल्न नसके पनि ब्याटिङमा २२ रनको योगदान दिए। यस शृंखलामा सोमपालले पनि राम्रो बलिङ गर्दै आफ्नो लय फर्किएको संकेत गरे। उनले चार खेलमा कुल आठ विकेट लिए।

यो हारसँगै नेपालले लिग–२ को अंकतालिकाको पाँचौं स्थानमा पु्ग्ने अवसर गुमायो। कुल २० खेल सकिँदा नेपाल १७ अंकसहित छैटौं स्थानमा छ। शनिबार नेपाललाई हराउँदै नामिबिया पाँचौं स्थानमा उक्लिएको छ। कुल ३६ खेलमध्ये नामिबियाले १८ खेल मात्र खेलेको छ।

प्रकाशित: २ श्रावण २०७९ ०२:४० सोमबार

लज्जापूर्ण ब्याटिङले फराकिलो हार त्रिकोणात्मक शृंखलामा निराशाजनक अन्त्य