खेल

पिएसजी जापानमा

फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) जापानको स्थानीय क्लबसँग तीन म्याच खेल्न आइतबार टोकियो ओर्लिएको छ।

नवनियुक्त प्रशिक्षक क्रिस्टोफ गाल्टियर टोलीलाई मजबुत बनाउनका लागि जापान पुगेका हुन्। पिएसजीबाट स्टार खेलाडी किलियन एम्बाप्पे, नेइमार र लियोनल मेसी पनि प्रि–सिजनका लागि जापान पुगेका हुन्।\

जापान भ्रमणमा रहँदा पिएसजीले जे लिगको टोली कावासाकी फ्रन्टेल, उरावा रेड्स र गाम्बा ओसाकासँग तीन खेल खेल्ने तालिका छ। टोली १० दिन जापानमा बस्ने क्लबले जनाएको छ। जापान बसाइपछि टोली उतैबाट इजरायल जाने तालिका छ। टोलीले इजरायल भ्रमणमा रहेको अर्को फ्रेन्च टोली नान्टेजसँग अगस्ट ३१ मा खेल्नेछ।

जापान भ्रमणमा निस्किएको टोलीलाई पहिलो पटक नयाँ प्रशिक्षक क्रिस्टोफले नेतृत्व गर्नेछन्। ५५ वर्षीय क्रिस्टोफले पिएसजी आउनुअघि सेन्ट इटिनी, लिले र निसको समेत प्रशिक्षण सम्हालिसकेका छन्। लिग वानमा सधैं हाबी भएर लगातार लिग च्याम्पियन बन्दै आएको पिएसजीको च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्य रहेको क्रिस्टोफले यसअघि बताएका थिए। टोली निर्वाध रूपमा २०२२–२३ सिजनको च्याम्पियन्स लिगको दाबेदार रहेको उनको भनाइ थियो।

‘हामीले जापान भ्रमणमा तीन राम्रा टोलीसँग प्रतिस्पर्धा गरेर अनुभव लिनेछौं,’ पिएसजी प्रशिक्षक क्रिस्टोफले टोकियोमा भएको पत्रकार सम्मेलनमा भने, ‘जापानको फुटबलको स्तर माथि छ। उच्च पेस र टेक्निकल शैलीमा फुटबल खेलिरहेको छ। यहाँको खेल टोलीलाई तेल अभिभमा आयोजना हुँदै गरेको फ्रेन्च सुपर कपको तयारीका लागि अभ्यास खेल हुनेछ।’

जापान भ्रमण गरेको पिएसजीमा २५ खेलाडी समावेश छन्। पिएसजीले जापान बसाइको क्रममा विभिन्न एकेडेमीमा पुगरे फुटबलबारे अनुभव साट्ने तालिका छ। भ्रमणमा पिएसजीले पहिलो खेलमा बुधबार टोकियोको राष्ट्रिय रंगशालामा जे लिग च्याम्पियन कावासाकीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

यस्तै जापान ओर्लिएपछि लियोनल मेसीले पिएसजीको भ्रमण जापान फुटबलका लागि अर्थपूर्ण हुने बताए। पिएसजीको भ्रमणबाट जापान फुटबललाई थप अगाडि बढाउन सहयोग मिल्ने प्रतिक्रिया दिए।

‘जापानको टोली मजबुत र प्रतिस्पर्धात्मक खेल खेल्न सक्ने टोलीको रूपमा उदय हुँदै छ,’ अर्जेन्टिनाका स्टार लियोनल मेसीले भने।

प्रकाशित: २ श्रावण २०७९ ०१:०७ सोमबार

पिएसजी जापानमा नयाँ प्रशिक्षक क्रिस्टोफ