खेल

नेपालको खराब लय बिर्सने योजना

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड भ्रमणमा रहेको नेपालले शनिबार नामिबियासँग दोस्रो खेल खेल्दै छ।

शनिबार नामिबियाविरुद्ध शृंखलाको दोस्रो खेलमा नेपाल जित निकाल्दै पहिलो खेलमा बेहोरेको हारको बदला लिने लक्ष्यमा छ। पहिलो खेलमा बिर्सनलायक ब्याटिङ सामना गरेपछि नेपाल ४० रनले पराजित हुँदै नामिबियालाई नतिजा सुम्पिएको थियो। शृंखलाको तेस्रो तथा नामिबियासँगको दोस्रो खेलमा सुधारिएको ब्याटिङ गर्दै नेपाल जितसहित सात राष्ट्र सम्मिलित लिग-२ को अंकतालिकामा समेत सुधार गर्ने लक्ष्यमा छ। पाँचौं स्थानमा रहेको नेपालभन्दा नामिबिया एक अंकले पछि छ। यसै शृंखलाको दोस्रो खेलमा नेपालले तीव्र गतिको बलिङमा उत्कृष्ट साथ पाएपछि स्कटल्यान्डमाथि भने ऐतिहासिक जित निकालेको थियो। तेस्रो खेलमा पनि नेपाल सोही किसिमको बलिङ प्रदर्शन हुने आशामा छ।

साथै निराशाजनक ब्याटिङ गर्दै आएको नेपाल शनिबार खराब लय बिर्सने योजनामा छ। नामिबियविरुद्ध पहिलो खेलमा आशातीत बलिङ गरेको नेपालको ब्याटिङ भने बिर्सनलायक रह्यो। ब्याटिङ चल्न नसक्दा नेपालले २ सय २१ रनको लक्ष्य भेटाउन सकेन। त्यो लक्ष्य पछ्याउने क्रममा नेपाल ४६.५ ओभरमा १ सय ८० रनमा नै समेटियो। उक्त खेलमा आरिफ शेखले अर्धशतकीय अविजित इनिङ खेले पनि जित दिलाउन भने सकेनन्। देव खनाल रकुशल भुर्तेल क्रिजमा टिक्ने प्रयास गरे पनि सफल भएनन्। आशा गरिएका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरी लयमा नफर्किनु पनि नेपालको ब्याटिङमा थप समस्या उत्पन्न भएको छ।

त्यस्तै कुशल भुर्तेल ररोहित पौडेलले पनि लामो समय क्रिजमा रहेर इनिङ अगाडि बढाए नेपालको ब्याटिङमा देखिएको समस्या हट्नेछ। दोस्रो खेलमा नेपालले घरेलु टोली स्कटल्यान्डमाथि पाँच विकेटको जित निकाल्दा ब्याटिङमा केही सुधार गरेको थियो। ओपनिङ साझेदारी राम्रो बन्दा नेपाल स्कटल्यान्डविरुद्ध कुनै पनि संरचनामा पहिलो पटक जित निकाल्न सफल भयो। १ सय ४५ रनको लक्ष्य नेपालले १ सय ४९ बलअगावै पूरा गर्दा पहिलो विकेटको साझेदारी र अनुभवी आरिफको इनिङ महत्त्वपूर्ण साबित बन्यो। साथै पछिल्लो खेलमा जस्तो बलिङमा पनि उच्च प्रदर्शन गर्ने नेपालको लक्ष्य हुनेछ ।

शनिबार नामिबियविरुद्ध मैदान उत्रिँदा टोली सोही लयलाई निरन्तरता दिन चाहन्छ। साथै दीपेन्द्रसिंह लयमा फर्किनु पनि उत्तिकै आवश्यकता रहनेछ। दीपेन्द्रले पछिल्ला पाँच एकदिवसीय खेलमा दोहोरो अंकको रन बनाउन सकेका छैनन्। गत मार्च २२ मा पपुवा न्युगिनीविरुद्ध घरेलु भूमिमा १ सय ५ रनको शतकीय इनिङ जोडे यता उनी खराब लयबाट गुज्रिएका छन्। त्यसयता ६ एकदिवसीय खेलमा गरी उनले कुल ३७ रन मात्र जोडेका छन्। पछिल्लो समय खराब प्रदर्शन गरेपछि उनले आलोचना पनि खेप्नु परेको छ। उनी नामिबियाविरुद्ध शनिबार यादगार इनिङ खेल्दै आफ्नो लय फर्काउन चाहन्छन्।

विश्वकप लिग-२ मा नेपालका कप्तान सन्दीप लामिछाने रकरण केसी कुल ३७ विकेट लिँदै सर्वाधिक विकेट लिने बलरको सूचीमा पाँचौं र छैटौं स्थानमा छन्। यी दुईको लय शनिबार पनि जारी रहे नामिबियाको ब्याटिङ दबाबमा पर्नेछ। नेपाल रनामिबियाले एकदिवसीय क्रिकेटमा सात पटक प्रतिस्पर्धा गरेको छ। त्यसमध्ये नेपालले चारपटक सुखद नतिजा निकाल्दा तीन खेलको नतिजा नामिबियालाई सुम्पिएको छ। नेपालले पहिलो पटक सन २००१ मा आइसिसी ट्रफीमा नामिबियासँग खेलेको थियो। क्यानडामा सम्पन्न उक्त खेलमा नेपालले आठ विकेटको लज्जास्पद हार भोगेको थियो।

सन् २०१४ को आइसिसी विश्वकप छनोटअघिको अभ्यासमा खेलमा पनि नेपाल चाररनले पराजित हुन पुग्यो। त्यसपछि भने सन् २०१५ को आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नेपालले बाजी मार्‍यो। त्यस खेलमा नेपाल तीन विकेटले विजयी भयो। सन् २०१७ मा भने यी देशबीच दुई खेल भयो। जहाँ नेपालले दुवै खेलमा सफलता प्राप्त गर्‍यो। त्यसपछि २०१८ मा नामिबियाले नेपालले आतिथ्यता गर्‍यो।

जहाँ नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ। लिग–२ मा ३६ खेलमध्ये नेपाल १८ खेल खेल्दै १७ अंकका साथ अंकतालिकाको पाँचौं स्थानमा छ। शनिबारहुने खेलमा नेपाल जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा छ। २४ खेल खेलेको अमेरिकाले अंकतालिकामा २३ अंक जोडेको छ। यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ। 

प्रकाशित: ३२ असार २०७९ ००:३९ शनिबार

आइसिसी विश्वकप क्रिकेट लिग-२ नेपालको खराब लय बिर्सने योजना