खेल

तेह्र खेलाडीलाई प्रोत्साहन पुरस्कार

विभिन्न ६ खेलका १३ खेलाडीले सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका १/१, बक्सिङका तीन, एथलेटिक्स र ट्रायथलनका २/२ गरी १३ खेलाडीलाई नगद पुरस्कार प्रदान गरेको हो।  

राखेपले कुल १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको थियो। पारा ओलम्पियन तेक्वान्दोकी पलेशागोबद्धन र ब्याडमिन्टनका प्रिन्स दाहालले समान एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। टोकियो पारा ओलम्पिकमा दुई बाउट (दुई खेल) जितेर इतिहास रचेकी पलेशा एसियाली युथ पारा गेम्सकी स्वर्ण विजेता पनि हुन्। हाल विश्व जुनियर वरीयताको सातौं स्थानमा रहेका प्रिन्स केही महिनाअघि शीर्ष वरीयतामा थिए। बक्सिङका नारिका राई, स्वस्तिका तिरुवा र छिरिङ शेर्पा तथा पारा तेक्वान्दोकी सिर्जना घिसिङले १/१ लाख नगद पाए।  

बक्सिङका तीनैले युएइमा सम्पन्न एसियाली युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा कांस्य जितेका थिए। सिर्जनाले इरानमा सम्पन्न वल्ड प्रेसिडेन्ट कप च्याम्पियनसिपमा नेपाललाई रजत पदक दिलाएकी थिइन्। एथलेटिक्सकी राजपुरा पछाईं र पुष्पा भण्डारी, ट्रायथलनका सोनी गुरुङ र वसन्त थारु, पारा तेक्वान्दोका रञ्जना धामी र विशाल गर्बुजा तथा भलिबलकी अरूणा शाहीले ५०/५० हजार रूपैयाँ नगद पुरस्कार पाए। राजपुराले भारतमा सम्पन्न दक्षिण एसियाली क्रस कन्ट्री तथा पुष्पाले ढाका म्याराथनमा रजत पदक जितेका थिए।

पोखरामा सम्पन्न नवौं दक्षिण एसियाली ट्रायथलनमा सोनी र वसन्तले कांस्य पदक हासिल गरेका थिए। रञ्जनाले एसियाली खेलकुदको छनोट तथा विशालले युथ एसियन गेम्सको छनोटमा कांस्य जितेका थिए। एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपालले स्वर्ण जित्दा अरूणा टोलीकी कप्तान हुन्। उनीहरूलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पुरस्कृत गरे।  

सोही अवसरमा राखेपले राष्ट्रपति खेलकुद महिला सहभागिता अभिवृद्धि कार्यक्रमको औपचारिक उद्घाटन गरेको थियो। यस अन्तर्गत २१ वटा जिल्ला विभिन्न खेलकुद गतिविधि सञ्चालनमा ल्याइनेछ। उद्घाटनको अवसरमा शक्ति समूहकी संस्थापक चरिमाया तामाङ र १५ वर्षकी उमेरमा तेजाब आक्रमणको शिकार भएकी मुस्कान खातुनले खेलकुदमा महिला सहभागिताका साथै महिला सशक्तिकरण सम्बन्धि विचार राखेका थिए।

प्रकाशित: २८ असार २०७९ ०३:४४ मंगलबार

राष्ट्रिय खेलकुद परिषद्