खेल

जसलाई राष्ट्रियताबारे बारम्बार सोधिन्छ

रसिया-युक्रेन युद्धको प्रभाव

रसियाको मस्कोमा जन्मिएकी इलिना रिबाकिनालाई आयोजकले शनिबार अफ्ठ्यारो क्षणमा विम्बल्डन च्याम्पियनको ताज पहिराउन सक्ने सम्भावना पनि छ। रसियामा जन्मे पनि इलिनाको उपाधि भिडन्तमा रसियन झन्डा भने फहराइने छैन, किनकि उनी अहिले रसियाकी खेलाडी होइनन्।

शनिबार हुने उपाधि भिडन्तमा इलिनाले कजाखस्तानको खेलाडीका रूपमा चुनौती प्रस्तुत गर्दै छिन्। यदि अहिले उनी रसियाकै खेलाडी हुने थिइन् भने विम्बल्डन खेल्न अयोग्य घोषित हुन्थिन्। किनकि रसिया र युक्रेनबीचको युद्धका कारण विश्वका अधिकांश प्रतियोगितामा रसियन खेलाडीमाथि प्रतिबन्ध लगाइएको छ।

युक्रेनमाथि आक्रमणका कारण यस वर्षको विम्बल्डनमा पनि रसियन खेलाडीमाथि प्रतिबन्ध लाग्यो। तथापि, यस पटक अल इङ्ल्यान्ड क्लब कोर्टमा रसियनहरूले आफ्ना छिमेकी राष्ट्रका खेलाडीप्रति सद्भाव प्रकट गर्नेछन्, जसले राष्ट्रियता परिवर्तन गरेका थिए।

इलिनाले फाइनलमा ओन्स जाबेउरविरुद्ध चुनौती प्रस्तुत गर्दै छिन्। इलिनाले सन् २०१८ मा मात्र कजाखस्तानको झन्डाबाट खेल्ने निर्णय गरेकी हुन्, जति बेला उनी विश्वको १ सय ७५औं वरीयतामा रहेर संघर्ष गर्दै थिइन्। त्यसको ठीक चार वर्षपछि उनी पहिले पटक ग्रान्ड स्लाम उपाधिका लागि खेल्दै छिन्। जुन उपाधिसँगै च्याम्पियनले २५ लाख अमेरिकन डलर पनि पाउनेछन्। लजालु स्वभावकी इलिना ६ फिट उचाइकी छिन्। उनीमाथि उनको राष्ट्रियताका विषयलाई लिएर चर्चा भइरहेको छ।

‘कजाखस्तानबाट लामो समयदेखि म खेलिरहेको छु। कजाखस्तानको खेलाडीका रूपमा चुनौती प्रस्तुत गर्न पाउँदै निकै खुसी पनि छु,’ सेमिफाइनलमा सिमोना हालेपलाई स्तब्ध बनाएपछि उनले भनिन्, ‘उनीहरूले मलाई विश्वास गर्नुपर्छ।

मैले कस्तो अनुभव गरिरहेको छु भन्नेबारे धेरै प्रश्न गर्न आवश्यक नै छैन। किनकि कजाखको खेलाडीका रूपमा मैले समय बिताएको लामो समय भइसकेको छ।’ इलिना अहिले विश्वको २३औं वरीयताकी खेलाडी हुन्। साथै इलिनाले मस्कोमा कति समय बस्यौ भन्नेबारे प्रश्न गर्न आवश्यक नरहेको पनि स्पष्ट पारेकी छिन्। किनकि खाली समय आफूले स्लोभाकिया र दुबईमा अभ्यास गरेको उनको भनाइ छ।

‘इमानदारिताका साथ भन्नुपर्दा म अन्य कुनै पनि स्थानमा बसेको छैन,’ उनले प्रस्ट्याएकी छन्। इलिना कजाखस्तानकी नम्बर एक खेलाडी हुन्। उनीभन्दा पछाडि युलिया पुटिनसेभा छिन्। युलिया विश्वको ३३औं वरीयता प्राप्त खेलाडी पनि हुन् र जसले तीन पटकसम्म मुख्य प्रतियोगिताको क्वार्टरफाइनसम्मको यात्रा तय गरेकी छन्। युलिया पनि मस्कोमै जन्मिएकी हुन्। कजाखस्तानको शीर्ष तीन पुरुष खेलाडी एलेक्जान्डर बुबलिक, मिखेख कुकुस्किन र दिमित्री पोप पनि रसियाकै हुन्।

बुबलिकले यस वर्षको विम्बल्डनमा तेस्रो चरणसम्मको यात्रा तय गरेका थिए, जुन यस प्रतियोगितामा उनको करियरकै ठूलो सफलता पनि हो। ३४ वर्षे कुकुस्किन भने सन् २००८ मा रसियाबाट कजाखस्तानका नागरिक भएका हुन्। ‘त्यो समयमा म विश्वको १५०औं स्थान वरपर थिएँ। जुन समय निकै संघर्षपूर्ण करियर पनि थियो। त्यस समय प्रतियोगितामा राम्रो गरेको पनि थिइनँ। मलाई विश्वास छ, मैले अझै राम्रो गर्न सक्छु,’ उनले भने, ‘त्यहाँ (रसिया) मैले कुनै अवसर नै पाइनँ। तर, कजाखस्तानमा मैले धेरै पाएको छु। मलाई राम्रो अभ्यासको वातावरण र प्रशिक्षक कजाखस्तानले दिलाएको हो।’

रसियाबाट कजाखस्तानका खेलाडी बन्नका लागि कजाखस्तान टेनिस फेडेरसन अध्यक्ष बुलाट युतेमुरतोभले व्यवस्था मिलाएका हुन्। ६४ वर्षे बुलाट सन् २००८ देखि उक्त जिम्मेवारीमा छन्।

 सन् २०१९ मा फोर्ब्सले जारी गरेको विश्वको धनी व्यापारीको सूचीमा उनी पनि थिए, जोसँग करिब ३.५ बिलियन डलर बराबरको सम्पत्ति रहेको अनुमान गरिएको थियो। अन्तर्राष्ट्रिय टेनिसमा कजाखस्तानका लागि सबैभन्दा सफल खेलाडी गालिना भोस्कोबोइभा हुन्, जसले बिली जिन किङ कपको टिम सफलता दिलाएकी थिइन्।

उनी र त्यस टिमको कप्तान यारोस्लाभा सभेडोभा पनि मस्कोकै हुन्। जर्जियाले पनि विम्बल्डनमा रसियन मूलककै खेलाडी नातेला जालामिद्जेलाई प्रतिस्पर्धा गराउँदै आएको छ। उनको सपना नै ओलम्पिक खेल्नु छ।

२९ वर्षे नातेला जर्जियन पिता र रसियन आमाबाट जन्मिएकी सन्तान हुन्। उनको बाबुआमा दुवै अझ पनि मस्कोमा नै बस्छन्। नातेलाले दुवै देशको पासपोर्ट बोक्छिन् र तर पनि उनी सन् २०२४ को पेरिस ओलम्पिक खेल्ने सपना देख्छिन्।

‘मैले अन्तिममा मात्र यो खेल्ने निर्णय गरेको थिएँ। मसँग लामो समयदेखि जर्जियाको पासपोर्ट थियो,’ नातेलाले भनिन्, ‘रसियन खेलाडी यस प्रतियोगिताको प्रतिबन्धमा छन्। त्यसैले जर्जियाको खेलाडीको रूपमा खेल्ने अवसर सदुपयोग गरेकी हुँ। म अहिले २९ वर्ष भैसकेकी छु। अब कति वर्ष नै टेनिस खेलौंला र?’ डबलमा उनी ४५औं वरीयतामा छिन्। उनी र सर्बियन खेलाडी एलेकजान्डर क्रुनिचको जोडी यस वर्षको विम्बल्डनमा दोस्रो चरणमा पराजित भएका थिए। 

प्रकाशित: २५ असार २०७९ ०३:३२ शनिबार

कजाखस्तानको खेलाडीका रूपमा रसियाको मस्कोमा जन्मिएकी इलिना रिबाकिना