खेल

धवनको कप्तानीमा वेस्ट इन्डिज भ्रमण

ओपनर शिखर धवनको कप्तानीमा वेस्ट इन्डिजसँग हुने तीन एकदिवसीय खेलका लागि टोली घोषणा हुँदा रवीन्द्र जडेजालाई उपकप्तानको जिम्मेवारी दिइएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले बुधबार धवनको नेतृत्वमा टोली घोषणा गर्दा अधिकांश युवा खेलाडीको बाहुल्य रहेको छ। घोषणा भएको टोलीमा सबै संरचनाका कप्तान रोहित शर्मा, स्टार ब्याट्सम्यान विराट कोहली र तीव्र गतिका बलर जसप्रीत बुमराहलाई आराम दिइएको छ। उनीहरूलाई घोषणा गरिएको १६ सदस्यीय टोलीभन्दा बाहिर राखिएको छ।

तीन एकदिवसीय खेल जुलाई २२, २४ र २७ तारिखमा आयोजना हुने तालिका छ। साथै उक्त भ्रमणमा पाँच खेलको ट्वान्टी-२० शृंखला पनि हुनेछ। धवनले यसअघि पनि कप्तानको जिम्मेवारी पाइसकेका छन्। ३६ वर्षीय धवनले पछिल्लो वर्ष श्रीलंकासँग भएको एकदिवसीय र ट्वान्टी–२० खेलमा कप्तानको जिम्मेवारी निर्वाह गरिसकेका छन्। धवन एकदिवसीय संरचनाको कप्तानी सम्हाल्ने भार तका सबैभन्दा पाका कप्तान समेत हुनेछन्।

मंगलबार कोरोनाका कारण स्थगित भएको इङ्ल्यान्डसँगको पाँचौं टेस्ट गुमाएको भारत इङ्ल्यान्डसँगको तीन ट्वान्टी–२० र तीन एकदिवसीय खेल सकेर वेस्ट इन्डिज भ्रमण गर्ने तालिका बनेको हो।

मंगलबार भएको पाँचौं टेस्टमा इङ्ल्यान्डले रोमाञ्चक जित निकालेको थियो। नियमित कप्तान रोहित शर्माले कोभिड-१९ का कारण खेल गुमाउँदा जसप्रीत बुमराहलाई कप्तानको जिम्मेवारी मिलेको थियो। जसमा बुमराहको टोलीले खेल गुमाउन पुगेको थियो। 

प्रकाशित: २३ असार २०७९ ०३:२९ बिहीबार

ओपनर शिखर धवन वेस्ट इन्डिज भ्रमण