खेल

रोमामा मेरो बसाइँ विशेष बन्यो: मिखितारियान

हेनरिक मिखितारियानले युरोपा कन्फरेन्स लिग जित्नु आफ्ना लागि एएस रोमा बसाइँको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन्।

मिखितारियान रोमाबाट इटालियन सिरी ‘ए’ कै क्लब इन्टर मिलान गएका छन्। अर्मानियाका पूर्वखेलाडी मिखितारियानले स्टाडियो ओलम्पिकोमा तीन सिजन बिताएका थिए। त्यसअघि उनले इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलबाट खेलिसकेका छन्। 

मिखितारियानले रोमाबाट एक सय १७ खेल खेले र यस क्रममा उनले ५५ गोल गरे। रोमाका लागि गत सिजन लोरेन्जो पिलेग्रिनीले सबैखाले प्रतियोगिता गरी ५६ गोल गरेका थिए। रोमाले युरोपा कन्फरेन्स लिग जित्दा उनले नौ खेल खेलेका थिए। ६० वर्षमा रोमाले जितेको युरोपा कन्फरेन्स लिग नै पहिलो उपाधि हो।

मिखितारियान र रोमाबीचको सम्झौता यसै साताबाट सकिएको थियो। उनले इन्टरसँग दुई वर्षका लागि सम्झौता गरेका हुन्। इन्टरले गत सिजन दोस्रो स्थानमा बस्दै लिगको अन्त्य गरेको थियो। इन्टर सन् २०२०–२१ सिजनको सिरी ‘ए’ विजेता पनि हो। मिखितारियानले सामाजिक संजालमार्फत रोमाका समर्थकसँग बिदाइ मागेका छन्। उनले रोमाका मुख्य प्रशिक्षक जोजे माउरिन्होको प्रशंसा समेत गरेका छन्।

‘एएस रोमा आफैंमा एउटा पृथक क्लब हो,’उनले लेखेका छन्, ‘मेरो रोमा बसाइँका क्रममा तपाईहरूको साथप्रति सधैं सम्मान गर्नेछु। रोमामा बिताएका प्रत्येक क्षण मेरा लागि विशेष हुन्। जब मैले पहिलो पटक रोमाको जर्सी लगाए। मेरो लक्ष्य रोमाको उपाधि खडेरी तोड्ने थियो, जुन ६० वर्षदेखिको हो।

म त्यसमा सफल भएँ। हामीले लिएको लक्ष्य पूरा गर्‍यौं र टोलीले उपाधि खडेरी तोड्यो,’उनले भने, ‘यो उपाधिसँगै मैले रोमाबाट सुखद बिदाइ दिने अवसर पाएँ। रोमामा मेरो तीन वर्षको बसाइँ उपलब्धिमूलक रह्यो। क्लबका मेरा साथी, प्रशिक्षक र टोली व्यवस्थापनलाई विशेष धन्यवाद छ।’ प्रशिक्षक माउरिन्होले आफूप्रति गरेको विश्वास यथार्थमा बदल्न सफल भएको उनको भनाइ छ।

‘प्रशिक्षक माउरिन्होले मप्रति जुन विश्वास देखाएका थिए, त्यो प्रमाणित गरेजस्तो लाग्छ,’उनले थपे, ‘माउरिन्होले सधैं खेलाडीलाई प्रेरणा दिन्छन्। रोमाबाट खेल्न पाउनु आफैंमा उपलब्धि थियो। कन्फरेन्स लिगको उपाधिले यहाँको बसाइँमा थप मिठास थपिदियो। यो क्लब र यसप्रतिको माया सधैं मेरो मुटुमा रहनेछ।’ इन्टरले नयाँ सिजनका लागि अनुबन्धन गरेको यो चौथो सम्झौता हो। यसअघि इन्टरले आन्द्रे ओनाना, रोमेलु लुकाकु र क्रिस्टजान आस्लानीलाई भित्राइसकेको छ। आस्लानी र लुकाकु भने लोनमा आएका हुन्।

प्रकाशित: १९ असार २०७९ ०३:३९ आइतबार

हेनरिक मिखितारियान सबैभन्दा ठूलो उपलब्धि