खेल

‘विम्बल्डन खेल्ने योजना थिएन’

विम्बल्डनमा मिक्स डबल्सका जोडी जेमी मरे र भेनेस विलियम्स।

भेनस विलियम्सले यसपटक विम्बल्डन खेल्ने कुनै योजना नभए पनि घाँसे कोर्टको वातावरणले आफू प्रतियोगितामा सहभागी भएको प्रतिक्रिया दिएकी छिन्।

४२ वर्षिया विलियम्स करिब एक वर्षदेखि कोर्ट बाहिर थिइन्। यस पटक उनले जेमी मरेको पार्टनरका रूपमा मिक्स डबल्समा प्रतिस्पर्धा गरिन्। मरे तीन पटकका ग्रान्ड स्लाम विजेता एन्डी मरेका भाइ हुन्। विलियम्सले यसअघि विम्बल्डन नखेल्ने बताएकी थिइन्।

अन्तिम मिनेटमा विलियम्सले नै आग्रह गरेपछि वाइल्ड कार्ड इन्ट्रिमार्फत उनले मरेको जोडीका रूपमा खेल्ने अवसर पाएकी हुन्। विलियम्स र मरेको जोडीको खेलतालिका पनि बुधबार मात्र निर्धारिण गरिएको थियो। यो जोडीले शुक्रबार एलिस्जा रोसोल्सका र मिचेल भेनसको जोडीलाई ६-३,६-७(७), ६-३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका थिए।

‘मेरो खेल्ने योजना नै थिएन। म घाँसे कोर्टबाट अलग रहन सकिनँ,’ विलियम्सले भनिन्, ‘म निकै उत्साही भएँ। मैले मरेलाई अन्तिम समयमा प्रतियोगिता खेल्न प्रस्ताव गरेकी थिएँ,’उनले भनिन्। विलियम्सले महिला एकलतर्फ पाँच पटक विम्बल्डनको उपाधि जितेकी छन्। 

युगलतर्फ पनि उनले पाँच पटक उपाधि जितेकी छिन्। तर मिक्स डबल्समा भने उनले अहिलेसम्म सफलता पाउन सकेकी छैनन्। सन् २००६ मा मिक्स डबल्सको फाइनल प्रवेश गरे पनि उनको जोडी उपविजेतामा सीमित भएको थियो। उनको जोडीको रूपमा रहेका मरेले मिक्स डबल्सतर्फ पाँच पटक उपाधि जितेका छन्।

विम्बल्डनमा भने उनी सन् २००७ र २०१७ मा मिक्स डबल्सको उपाधि जित्न सफल भएका थिए। ‘हामी दुई मध्ये एक जनाको प्रयासमा मात्र हामीले अघिल्लो चरणको यात्रा तयार गरेका होइनौं,’विलियम्सले भने,‘यसमा दुवैको मिहिनत रहेको छ।’२३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्सले भेनसलाई विम्बल्डनमा देख्ने सम्भवत् यो अन्तिम पटक पनि हुन सक्ने प्रतिक्रिया दिएकी थिइन्। ४० वर्षिया सेरेना मंगलबार महिला एकलको पहिलो चरणमै फ्रान्सकी हार्मोनी टानसँग पराजित भएकी थिइन।

विलियम्सले हरेक खेलमा जित सम्भव नहुने भन्दै ग्रान्ड स्लामको हरेक सहभागिता नै उपलब्धि हुने बताएकी थिइन्। ‘मेरा लागि विम्बल्डनमा यो अन्तिम अवसर हो। म सेरेनाबाट निकै प्रभावित भएकी छु,’विलियम्सले भनिन्। यी दुईको जोडीले आइतबार अन्तिम १६ मा ब्रिटिसकी अलिसा बार्नेट र जोनी ओ माराको सामना गर्नेछिन्।

प्रकाशित: १९ असार २०७९ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App