खेल

यु–२० टोली व्यवस्थापकमा घले

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार दिवाकर घले गुरुङलाई नेपाली यु–२० राष्ट्रिय फुटबल टोलीको टिम व्यवस्थापकमा नियुक्त गरेको छ।

महावीर क्लबका अध्यक्ष समेत रहेका घलेले भारतमा जुलाई अन्तिम साता हुने साफ यु–२० च्याम्पियनसिपसँगै नेपाली टोलीको व्यवस्थापन सम्हाल्नेछन्। भारतको उडिसामा हुने प्रतियोगिता जुलाई २५ देखि अगस्ट ३ सम्म हुने तालिका छ।

प्रतियोगितामा नेपालले पहिलो खेल जुलाई २५ मा माल्दिभ्सविरुद्ध खेल्नेछ भने दोस्रो खेल श्रीलंकाविरुद्ध जुलाई २७, घरेलु टोली भार तविरुद्ध जुलाई ३१ र बंगलादेशविरुद्ध अगस्ट २ मा खेल्नेछ। एन्फाले सेप्टेम्बर १० देखि १८सम्म बहराइनमा हुने यु २० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टोलीको व्यवस्थापन सम्हाल्ने जनाएको छ।

यु २० एसियन कप छनोटमा नेपालले समूह ‘बी’ मा कतार, बहराइन, बंगलादेश र  भुटानसँगै प्रतिस्पर्धा गर्नेछ। जसअन्तर्गत नेपालले सेप्टेम्बर १० मा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ भने दोस्रो खेलमा सेप्टेम्बर १२ मा कतार, तेस्रो खेलमा सेप्टेम्बर १४ मा बहराइन र चौथो खेलमा सेप्टेम्बर  १८ मा बंगलादेशविरुद्ध खेल्नेछ।

प्रकाशित: १८ असार २०७९ ०६:१९ शनिबार

अखिल नेपाल फुटबल संघ (एन्फा) दिवाकर घले गुरुङ