नियमित प्रतियोगिता हुँदैन। मैदानको उपलब्धता पनि छैन। तरपनि कास्कीमा हक्कीप्रतिको अभिरुची भने विस्तारै बढ्दै गएको छ। नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेशले रजत पदक जितेपछि हक्कीप्रतिको चासो केही बढेको हो। पछिल्लो समय कास्की हक्की संघ पुनर्गठन भएपछि हक्कीलाई विद्यालयसम्म पुर्याउने अभियान सुरु भएको छ।
कास्की जिल्ला हक्की संघले पोखराका तीन र स्याङजामा एक विद्यालयमा हक्की स्टिक र बल वितरण गर्दै हक्की खेलको प्रवद्र्धनमा जुटेको छ। ‘नियमित प्रतियोगिता नहुदाँ हक्की खेल बारे बुझाउनै कठिन भयो। तर विस्तारै बुझ्न थालेका छन्।’ कास्की जिल्ला हक्की संघका अध्यक्ष मिलन केसीले भने, ‘विद्यालयमा पुगेर हक्की स्टिक र बल वितरण गरिएको छ। सिनियर खेलाडीले प्रशिक्षण समेत दिदैं आएका छन्।’
हक्की हिजोको भन्दा निकै फरक भएको उनको बुझाई छ। उनका अनुसार पहिला संघ नै निष्क्रिय जस्तै थियो, अहिले संघकै पहलमा विद्यालयमा हक्कीको सामान हस्तान्तरण गर्दै आएको छ। संघले ग्यालेक्सी, हिमालयन र ज्योतिकुन्ज बोर्डिङ स्कुललाई हक्की खेल सामाग्री प्रदान गरेको छ।
कास्की जिल्ला हक्की संघको अभियानलाई पूर्व राष्ट्रिय खेलाडी हित गुरुङले सहयोगी भूमिका खेल्दै आएका छन्। उनी आफैंले पनि पोखरा रंगशालामा आफनो अनुभवलाई युवा खेलाडीसँग साट्दै आएका छन्। उनको सक्रियताले संघलाई समेत हक्की प्रवद्र्धनमा उर्जा थपिएको छ। ‘पूर्व राष्ट्रिय खेलाडी हित गुरुङको सक्रियताले हक्कीको प्रवद्र्धनमा संघलाई टेवा पुगेको छ।’ अध्यक्ष केसीको भनाई थियो।
संघले हिमालय मावि ग्यालेक्सीमा केही समयअघि हक्की स्टिक र बल वितरण गरेको थियो। यसै साता मात्रै पोखरा–१० रामबजारस्थित ज्योतिकुन्ज बोर्डिङ स्कुललाई हक्की स्टिक र बल हस्तान्तरण गरिएको छ। ज्योतिकुन्जमा १२ थान स्टिक र १२ वटा बल हस्तान्तरण गरिएको संघले जनाएको छ। पोखरा रंगशालाभित्र हक्कीको प्राक्टिसको लागि ठाँउ नै छैन्। खेलमैदान नहुदाँ पनि खेलाडीहरु आफनै बलबुतामा रंगशालाभित्रै एक कुनामा प्रशिक्षण गर्दै आएका छन्। प्रशिक्षण गरेपनि नियमित प्रतियोगिता आयोजना नहुदाँ खेलाडीमा निराशा छाएको संघले जनाएको छ। ‘रंगशालाभित्रै जेनतेन प्रशिक्षण गराउने बातावरण बनाउँदै छौं ।’ अध्यक्ष केसीले बताए।
ज्योतिकुन्ज बोर्डिङ स्कुलका पुरन कुँवर आफैं हक्की खेलाडी हुन्। कुँवरले २०४४ सालमा हेटौडामा गण्डकी अञ्चलको प्रतिनिधित्व गरेका थिए। संस्थापक प्रिन्सिपल कुँवरकै पहलमा संघले हक्की स्टिक र बल हस्तान्तरण गरेको हो। ‘स्कुलमा भारतीय सेनाबाट निबृत्त भएका क्याप्टेन राजु थापा सरले हक्की र फुटबल प्रशिक्षण गराउनुहुन्छ,’ प्रिन्सिपल कुँवरले भने।
उनका अनुसार ७, ८ र ९ कक्षामा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षण गराइएको छ छात्र १५ जना र छात्रा १५ जना गरी ३० जनालाई हक्की प्रशिक्षण गराईको छ। उनीहरुलाई विद्यालय समयमै सिकाउने गरिएको छ ‘ब्रेक टाईममा सिकाईन्छ,’ उनले भने, ‘४० मिनेट सिक्छन्।’ हक्की खेलको प्रर्वद्धनकै लागि हिमालयन लाईफ नामक गैर सरकारी संस्थाले सहयोग गर्दै आएको छ। संस्थाले हक्कीको आधारभूत प्रशिक्षण गराउने स्टिक र बल हस्तान्तरण गर्दै आएको संघका अध्यक्ष केसीले बताए।
प्रकाशित: १५ असार २०७९ ०७:५९ बुधबार