खेल

चेस ओलम्पियाडमा १० खेलाडीको छनोट

भारतमा हुने ४४औं चेस ओलम्पियाडमा प्रतिस्पर्धा गर्ने कुल १० नेपाली खेलाडीको शनिबार टुङ्गो लागेको छ।

शनिबार काठमाडौंमा सम्पन्न छनोट प्रतियोगिताबाट महिला र पुरुषमा समान पाँच खेलाडी छनोट गरिएको हो। पुरुषतर्फ मिलन लामा, क्षितिज भण्डारी र रूपेस जैसवाल छनोट भएका हुन्। मिलन र क्षितिजले पाँच अंक पाए भने रूपेशले ४.५ अंक बटुले।

राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताका महिला र पुरुषले भने सीधै ओलम्पियाड खेल्न पाउने प्रावधान छ। सोही प्रावधानअनुसार वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र नेपाल शीर्ष वरीयताका विवेक थिङ छनोट भइसकेका छन्।

त्यस्तै महिलातर्फ कृत्तिसरा अधिकारी, अनिषा न्यौपाने, विनीता कपाली र शान्ति धिमाल छनोट भए। कृत्तिसराले ५.५ अंक जोड्दा अनिषा र विनीताले पाँच अंक तथा शान्तिले ४.५ अंक बटुले।

राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयता प्राप्त खेलाडीको कोटाबाट सुजना लोहनी छनोट भइसकेकी छन्। ४४औं चेस ओलम्पियाड भारतको चेन्नाईमा जुलाई २८ देखि अगस्ट १० सम्म हुँदै छ। छनोट प्रतियोगितामा पुरुषतर्पm १० र महिलामा १२ खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। 

प्रकाशित: १२ असार २०७९ ०५:०४ आइतबार

४४औं चेस ओलम्पियाड राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयता प्राप्त