खेल

कृत्तिसरा चुनिइन्

डाइनामिक चेस एकेडेमीकी कृत्तिसरा अधिकारी भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाडमा छनोट भएकी छिन्।

काठमाडौंमा जारी छनोट प्रतियोगितामा कृत्तिसराले ६ चरणको समाप्तिमा पाँच अंक बटुल्दै ४४औं चेस ओलम्पियाडमा नेपालको तर्फबाट चुनौती पक्का गरेकी हुन्। महिलातर्फ अन्य तीन खेलाडीको टुङ्गो शनिबार हुने अन्तिम चरणको खेलबाट हुनेछ। नेपालबाट कुल पाँच महिला खेलाडीले ४४औं ओलम्पियाड खेल्नेछन्।

राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताका महिला र पुरुषले भने सीधै ओलम्पियाड खेल्न पाउने प्रावधान छ। सोही आधारमा नेपालकी राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयताकी सुजना लोहनी यसअघि नै छनोट भइसकेकी छन्।

कृत्तिसराले शुक्रबार विनीता कपाली र पुनम प्रसाईंलाई पराजित गरिन्। छनोट चरणमा बाँकी तीन स्थानमा अनिषा न्यौपाने, विनीता कपाली, शान्ति धिमाल, सिन्दिरा जोशी र खुस्बु थापा तीव्र प्रतिस्पर्धामा छन्।

अनिषाको ४.५ अंक र विनीताको चार अंक छ। शान्ति, सिन्दिरा र खुस्बुको समान ३.५ अंक छ। पूजा भण्डारीको तीन अंक छ। एकदिन अगाडिसम्म अग्रता लिएकी अनिषाले शुक्रबार शान्तिसँग हारको सामना गरिन् भने सिन्दिरासँग बराबरी गरिन्। त्यो नतिजाले नै उनलाई थप दबाबमा पार्‍यो। विनीताले छैटौं चरणमा शान्तिलाई हराउँदै छनोट सम्भावना बलियो पारिन्। पुरुषतर्फ मिलन लामा छनोट भएका छन्। मिलनले पनि ६ चरणको समाप्तिमा पाँच अंक बटुलेका छन्।

पुरुषतर्फ अब दुई जनाको टुङ्गो शनिबार हुने अन्तिम चरणको खेलपछि लाग्नेछ। वर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं र शीर्ष वरीयताका खेलाडी विवेक थिङ यसअघि नै ओलम्पियाडका लागि छनोट भइसकेका छन्। थप दुई प्रतिस्पर्धाका लागि क्षितिज भण्डारीको ४.५ र रूपेश जैसवालको ३.५ अंक छ।

मिलनले शुक्रबार पाँचौं चरणमा शूरवीर लामासँग बराबरी गरे भने छैटौं चरणमा रूपेशलाई हराए। सातौं चरणमा शूरवीर र रूपेशबीचको खेल निर्णायक बन्नेछ।

प्रकाशित: ११ असार २०७९ ०३:१० शनिबार

कृत्तिसरा चुनिइन् डाइनामिक चेस एकेडेमी