खेल

इन्टरमा लुकाकु

इङ्लिस प्रिमियर लिग क्लब चेल्सीमा निराश भएका स्ट्राइकर रोमेलु लुकाकु लोनमा पुनः इटालियन क्लब इन्टर मिलानमा फर्किएका छन्। लुकाकुलाई इन्टर मिलानले एक वर्षका लागि फेरि लोनमा भित्र्याउन लागेको क्लबले जनाएको छ।

८ मिलियन युरोमा सम्झौता गरेका लुकाकुलाई सोमबार एक सिजनका लागि स्टामफोर्डबाट लोनमा भित्र्याउन इन्टर सहमत भएको हो। चेल्सीले २०२१ अगस्टमा लुकाकुलाई इन्टरबाट ९७.५ मिलियन युरोमा अनुबन्धित गरेको थियो। इन्टरले गत सिजन सिरी ‘ए’ को उपाधि रक्षा गर्न भने असफल भएको थियो। यद्यपि २०२०/२१ सिजन लुकाकुले इन्टरलाई सिरी ‘ए’ को उपाधि जिताउन प्रमुख भूमिका खेलेका थिए।

लुकाकु सात वर्षपछि चेल्सी फर्किएका थिए भने सन् २०१४ मा चेल्सी छाडेका थिए। चेल्सी छाडेर एभर्टन गएका लुकाकुले सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेलमा ८७ गोल गरेका थिए। सन् २०१७ मा म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका लुकाकुले ओल्ड ट्राफोर्ड बसाइमा ९६ खेल खेल्दै ४२ गोल गरेका थिए। युनाइटेडपछि लुकाकु सन् २०१९ मा इन्टर मिलानमा अनुबन्धित भएका थिए।

सिरी ‘ए’ लिग क्लबमा फर्किन लागेका लुकाकुले गत सिजन चेल्सीबाट सबै खाले प्रतियोगिता गरी १५ गोल गरेका थिए। प्रिमियर लिगका २६ खेल मात्र खेल्दा लुकाकुले आठ गोल गरेका थिए। गत सिजन लुकाकुले स्टामफोर्ड ब्रिजमा खुसी नरहेको भनी एक सञ्चार माध्यममा अन्तर्वार्ता दिँदै इन्टर फर्कने इच्छा रहेको बताएका थिए। उक्त अन्तर्वार्तापछि लुकाकुमाथि टोलीबाट निकै ठूलो आलोचना भएको थियो। त्यसपश्चात् उनले चेल्सी समर्थकसँग माफी मागेका थिए।

लुकाकु थोमस टुचेलको टोलीमा रहँदा प्रिमियर लिगमा तेस्रो स्थान रहेर लिग समापन गरेको थियो। यस्तै चेल्सीले क्लब वर्ल्ड कप जितेको थियो भने एफए कपमा र लिग कपको फाइनलमा लिभरपुलसँग पराजित भएको थियो। नयाँ सिजनमा राम्रो गर्ने लक्ष्य लिएको चेल्सीले म्यानचेस्टर सिटीका रहिम स्टर्लिङलाई अनुबन्धनको तयारी गरेको छ। तर स्टर्लिङको विषय अझै टुङ्गोमा पुग्न सकेको छैन। प्रशिक्षक टुचेलले भने स्पेनिस क्लब सेभियाका फ्रेन्च डिफेन्डर जुलियस कोन्डेलाई अनुबन्धित गर्ने प्रक्रिया अन्तिम चारमा पुग्नेमा विश्वास व्यक्त गरे।  

प्रकाशित: ९ असार २०७९ ०२:३२ बिहीबार

इङ्लिस प्रिमियर लिग इन्टरमा लुकाकु