खेल

रत्नराज्य र पाटन क्वार्टरफाइनलमा

रत्नराज्य क्याम्पस र पाटन क्याम्पस बुधबार राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल) लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित गर्‍यो। जितसँगै पाटन समूहविजेता बन्यो। यो समूहमा दुई टोली मात्र रहेकाले अस्कल पनि उपविजेताका हैसियतले क्वार्टरफाइनलमा पुग्न सफल भयो। रत्नराज्यले दोहोरो जित निकालेर समूह ‘बी’ को विजेता बन्दै क्वार्टर फाइनलमा स्थान बनायो। रत्नराज्यले जय बहुमुखी क्याम्पसलाई २५–८ र २७–२५ ले तथा सरस्वतीलाई २५–२२ र २५–१९ को सोझो सेटमा हरायो।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी अन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा त्रिचन्द्र पनि दुई जित आत्मसात् गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्न सफल भयो। त्रिचन्द्रले महेन्द्ररत्नलाई २५–१८ र २५–२० ले तथा भक्तपुरलाई २५–२२ र २५–२२ को सीधा सेटमा पाखा लगायो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भइरहेको प्रतियोगितामा बानेश्वर क्याम्पसले मिश्रित नतिजा निकाल्यो। शंकरदेव क्याम्पसलाई २७–२५, २२–२५ र २५–१८ ले पराजित गरेको बानेश्वर नेपाल कमर्ससँग २५–१५ र २५–१६ ले चुक्यो। प्रतियोगिताको राखेप सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए।

उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य लगायतको उपस्थिति थियो। ७१औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ११ टोलीले प्रतिस्पर्धा गरेका छन्। राष्ट्रव्यापी खेलकुद अन्तर्गत भलिबलबाहेक क्रिकेटको ट्यालेन्ट हन्टसहित प्रतियोगिता, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोको प्रतिस्पर्धा हुनेछ। प्रशिक्षण तथा तालिम पनि हुनेछ।

प्रकाशित: ९ असार २०७९ ०१:३८ बिहीबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगिता