खेल

बिसिसी र केसिटिसीलाई सफलता

भक्तपुर क्रिकेट सेन्टर (बिसिसी) र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) ले मंगलबार यु–१६ नेक्सस कप ट्वान्टी–२० क्रिकेट सिजन पाँचमा सफलता हात पारेका छन्।

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगितामा बिसिसीले नेक्सस क्रिकेट एकेडेमी ११ लाई ३८ रनले पराजित गर्‍यो। बिसिसीले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै एक सय २४ रन बनायो। बिसिसीका श्रीराजवीर श्रेष्ठले ५४ बलमा ४० तथा विज्ञान अधिकारीले २३ बलमा २२ रन जोडे।

त्यसमा श्रीराजले १ तथा विज्ञानले ३ चौका प्रहार गरे। नेक्ससका सोहन ढुंगानाले ३ ओभरमा १० रन खर्चंदै तीन विकेट लिए। नेक्सस १८.३ ओभरमा अलआउट हुनुअघि ८६ रनमा समेटियो। नेक्ससका राहुल अग्रीले ३१ बलमा पाँच चौकाको मद्दतमा ३४ रन बनाए।

म्यान अफ दी म्याच बिसिसीका दक्ष बरालले चार ओभर बलिङमा ३.५० को औसतमा १४ रन दिँदै ३ विकेट लिए। चार ओभरमै ३.७५ को औसतमा १५ रन खर्चेका बिसिसीकै टकमान चौधरीले पनि तीन विकेट हात पारे। बाग्मती प्रदेश खेलकुद विकास परिषद्को सहकार्यमा मूलपानी क्रिकेट मैदानमा जारी प्रतियोगिताको अर्को खेलमा केसिटिसीले एन्जल्स स्पोर्ट्स क्रिकेट एकेडेमीलाई एक विकेटले हरायो।

एन्जल्सले पूरा २० ओभर खेल्दै सबै विकेट गुमाएर ९३ रन जोड्यो। एन्जल्सका युनिशविक्रम सिंहले ३९ बलको सामना गर्दै ५१ रन बनाए। उनले ३३ चौका र छक्का प्रहार गरे। एन्जल्सकै दिवस कुँवरले ८ बलमा १८ रन जोडे। म्यान अफ दी म्याच केसिटिसीका विनीत पन्थीले चार ओभरमा १२ रन दिएर तीन विकेट लिए।

एन्जल पौडेलले दुई विकेट हात पारे। जबाफमा केसिटिसीले १९.४ ओभरमा ९ विकेट गुमाउँदै ९४ रन जोड्यो। केसिटिसीका अभिषेक उपाध्यायले ३१ बलको सामना गर्ने क्रममा २७ रन बनाए। एन्जल्सका दिवस कुँवरले तीन विकेट चट्काए।

प्रकाशित: ८ असार २०७९ ०१:३७ बुधबार

बिसिसी र केसिटिसीलाई सफलता एन्जल्सका युनिशविक्रम सिंह