खेल

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

मलेशियामा जारी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनरारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दा नेपालको अन्तिम चारको यात्रा तय भएको हो।

१५ रनको सामान्य लक्ष्य पश्चात जवाफी ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन्। बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो। बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिइन्।

त्यस्तै अस्मिना कर्माचार्यले एक विकेट लिइन् । जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। अब अन्तिम खेलमा नेपालले हंङकङसँग मंगलबार खेल्नेछ। 

प्रकाशित: ६ असार २०७९ ०७:१२ सोमबार