खेल

नाडालले विम्बल्डन खेल्नेमा अझै दुविधा

कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडालले विम्बल्डन खेल्न इच्छुक रहेपनि यसबारे अन्तिम निर्णय भने लन्डनमा आगामी साता हुने अभ्यासपछि मात्र थाहा हुने बताएका छन्। नाडाल लामो समयदेखि खुट्टाको चोटसँग जुधिरहेका छन्। केही साताअघि फ्रेन्च ओपनमा पनि नाडालले प्रत्येक खेलमा नदुख्ने सुई लगाएर खेलेका थिए। ‘मेरो इच्छा विम्बल्डनमा प्रतिस्पर्धा गर्न नै रहेको छ,’नाडालले भने, ‘म अहिले खुट्टाको उपचार गराइरहेको छु। अभ्यासमा फर्किएपछि मात्र मेरो खेल्ने सम्भावना छ वा छैन थाहा हुनेछ। म सोमबार लन्डन जानेछु।

जहाँ म एक साताको प्रशिक्षण्मा हुनेछु।’ नाडाल आफ्नो कीर्तिमानी ग्रान्ड स्लाम यात्रालाई अझै लम्बाउन चाहन्छन्। उनले हाल रेडियो फ्रिक्वेन्सी स्टिमुलेसन प्रविधिबाट खुट्टाको उपचार गराइरहेका छन्।

‘मैले नयाँ प्रविधिमार्फत खुट्टाको उपचार गराइरहेको छु र मैले अहिले धेरै राम्रो महसुस गरिरहेको छु,’नाडालले भने, ‘म खुसी छु। केही दुखाई अझै बाँकी छ। तर, पहिलेको भन्दा धेरै सुधार भएको छ। जुन मेरा लागि सकारात्मक पक्ष हो।’ नाडालले अहिलेसम्म दुई पटक विम्बल्डन जितेका छन्। उनले सन् २००८ र २०१० मा विम्बल्डन जितेका थिए। सन् २०२० मा कोभिड–१९ महामारीका कारण प्रतियोगिता रद्द गरिएको थियो भने सन् २०२१ मा भने खुट्टाकै चोटका कारण नाडालले प्रतियोगितामा सहभागिता जनाएका थिएनन्। उनी तीन वर्षपछि विम्बल्डनमा सहभागी हुँदैछन्।

‘म लन्डन यात्रामा निस्कदै छु, जहाँ दुई अभ्यास खेल खेल्नेछु,’नाडालले भने, ‘त्यसपछि म प्रतियोगिताका लागि अभ्यास सुरु गर्नेछु। आशा छ म छिट्टै खुट्टाको चोटबाट मुक्त हुनेछु। विम्बल्डनमा सहभागी हुन निकै उत्साही पनि छु। विम्बल्डनमा चोटमुक्त भए क्यानडा र युएस ओपन खेल्ने योजना छ।’ क्ले कोर्टमा एकपछि अर्को सफलता निकाले पनि घाँसे कोर्टमा भने नाडालले आशातित सफलता हात पार्न सकेका छैनन्। ‘रोनाल्ड गारोसमा खेल्नाले आत्मविश्वास बढ्छ। तर घाँसमा खेल्न सहज छैन,’विश्व नम्बर चार नाडालले भने, ‘मंैले पछिल्लो तीन वर्ष घाँसे कोर्टमा खेलेको छैन। त्यसैले मेरा लागि यस पटक निकै कठिन हुनसक्छ।’ 

प्रकाशित: ५ असार २०७९ ०४:४६ आइतबार

कीर्तिमानी २२औं पटक ग्रान्ड स्लाम विजेता राफेल नाडाल