खेल

‘फिफ्टिन ‘ए’ साइड रग्बीमा जित लक्ष्य

बंगलादेशसँगको रग्बी सिरिजबाट पहिलो पटक ‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको नेपालले जित निकाल्ने लक्ष्य राखेको छ।

नेपालले आगामी मंगलबारदेखि दुई दिनसम्म बंगबन्धु रग्बी सिरिज खेल्दै छ। जहाँ नेपालले घरेलु टोली बंगलादेशसँग ढाकास्थित आर्मी स्टेडियममा सेभेन ‘ए’ का दुई खेल र फिफ्टिन ‘ए’ साइडका एक खेल खेल्नेछ। सेभेनमा नेपालले सात वर्षदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्दै आए पनि फिफ्टिनमा भने पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

शुक्रबार एक कार्यक्रमका बीच नेपाली टोलीलाई बिदाइ गरिएको थियो। उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङ, नेपाल रग्बी संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा, महासचिव चेतनराज गिरि र सचिव गोविन्द घिमिरे लगायतले बिदाइ गरे।

सो अवसरमा नेपाली टोलीका कप्तान कृष्ण क्षत्रीले नयाँ र युवा प्रतिभावान् खेलाडीको समिश्रणले टोली बलियो रहेका कारण राम्रो प्रतिस्पर्धा गर्ने बताए। ‘यसपटक सिनियर खेलाडी सात जना छौं। अधिकांश नयाँ खेलाडी छन्। तथापि, सबै क्षमतावान् भएकाले राष्ट्रिय टोलीमा परेका हुन्,’ कप्तान क्षेत्रीले भने, ‘हामीले एक महिनादेखि तयारी गरेका छौं। राम्रो चुनौती प्रस्तुत गर्नेमा आशावादी छु।’ कप्तान क्षत्रीले सेभेनमा लामो समयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गरेकाले सुखद नतिजा हात पार्ने विश्वास व्यक्त गरेका छन्।

‘सेभेनमा अनुभवी छौं। त्यसैले राम्रो प्रदर्शन हुनेछ। यद्यपि, यहाँको तुलनामा बंगलादेशमा अत्यधिक तापक्रममा खेल्नुपर्ने भएकाले केही कठिन भने हुन सक्छ,’ कप्तान क्षत्रीले भने। राखेप सदस्य सचिव घिसिङले पहिलो पटक फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेकोमा खेलाडीलाई बधाई दिँदै विजयी भएर स्वदेश फर्किनेमा आशावादी रहेको बताए। ‘यो टिम गेम हो। एकजनाको प्रयासले मात्र जित्न सकिन्न। खेलाडीहरूले टिम खेलकै रूपमा एकअर्काबीच राम्रो सहकार्य गरे उत्कृष्ट नतिजा आउनेछ। यहाँहरूले त्यसतर्फ ध्यान दिएर जित्नुहुनेछ भन्नेमा म विश्वस्त छु,’ घिसिङले भने।

साथैले नेपालमा अन्तर्राष्ट्रिय रग्बी सिरिज गर्न राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटाले विपक्षी कस्तो छ भन्दा पनि हामी हराउन सक्छौं भन्ने आत्मविश्वासका साथ खेले जित सम्भव रहेको प्रतिक्रिया दिए। ‘हामीमा विपक्षी टोलीलाई हराउन सक्ने आत्मविश्वास छ र त्यो आत्मविश्वासलाई हामी जितमा बदल्नेछौं,’ अध्यक्ष देवकोटाले भने। सो अवसरमा संघले राष्ट्रिय टोलीको जर्सी प्रयोजक फिटवेल स्पोर्ट्स वेर कम्पनीसँग दुई वर्षको सम्झौता गरेको। त्यसबापत कम्पनीले दुई वर्षसम्म नेपाली टोलीलाई जर्सी प्रदान गर्नेछ।

संघका कार्यवाहक अध्यक्ष दीपक देवकोटा र कम्पनीका डाइरेक्टर मुनाल भारतीबीच सोही अवसरमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो। क्षत्रीको कप्तानीमा रहने नेपाली टोलीमा विराट श्रेष्ठ (उपकप्तान), श्रीराम श्रेष्ठ, प्रेम कोइराला, विक्रम पुरी, विक्रम भारती, सुरज चौधरी, शेरबहादुर वली, रोशन घर्ती, निरोज कार्की, नवीन महर्जन, विवेश बासु, सञ्जीव कुँवर, रमितबहादुर मल, यदु अधिकारी, अमरसिंह श्रेष्ठ, सुमन चौलागाईं, पूजन फेवाली, जुकेन्द्र राई, रामकिशोर चौधरी, सुजन कुमाल र हुतराज प्रधान छन्। प्रशिक्षकमा टंकराज गिरि, म्यानेजरमा गोपाल क्षत्री र फिजियोमा लक्ष्मण अधिकारी छन्। 

प्रकाशित: ४ असार २०७९ ०२:४१ शनिबार

‘फिफ्टिन ‘ए’ साइडमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा राष्ट्रिय खेलकुद परिषद् (राखेप)