खेल

सुर्खेतमा पहिलो पटक हाफ म्याराथन हुँदै

प्रतिभावान खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुर्खेतमा पहिलो पटक काँक्रेविहार खुला पुरुष हाफ म्याराथन तथा छात्रछात्रा पाँच किलोमिटर विद्यालयस्तरको दौड प्रतियोगिता हुने भएको छ। शुक्रबार वीरेन्द्रनगरमा प्रतियोगिताको अन्तिम तयारी बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगीता कर्णालीको भविष्यसँग जोडिएको बताए।

‘कर्णाली दौडिन्छ’ भन्ने नाराका साथ मंगलबार हुने प्रतियोगितामा देशभरका खेलाडीहरुको सहभागिता हुनेछ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र मिड वेष्टन फिटनेस सेन्टर सुर्खेतको आयोजनामा हुने लागेको म्याराथन र ५ किलोमिटर दौडमा करिव १ हजार धावकको सहभागिता रहने रेस डाइरेक्टर बिक्रमजंग थापाले बताए। हाफ म्याराथनमा दुई सय र विद्यालयस्तरको दौडमा आठ सय भन्दा बढीले प्रतिस्पर्धा गर्ने थापाले बताए। जुन नेपालमा भएका म्याराथन मध्ये सर्वाधिक सहभागिता हुनेछ।  

आयोजक मिड वेष्टन फिटनेस सेन्टर संस्थापक एवम् कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालले कर्णालीमा म्याराथनकोस्तर र पर्यटन प्रवद्र्धनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। ‘हामी निकै उत्साही छौं, सुर्खेतमा पहिलो पटक हाफ म्याराथन हुँदैछ,’ उनले भने, ‘खेलकुद देशको प्रतिष्ठासँग मात्र जोडिएको हुँदैन्, आयोजना गर्ने स्थानको पहिचान र त्यसक्षेत्रको आर्थिक विकाससँग पनि जोडिएको हुन्छ, सुर्खेतलाई चिनाउने एउटा उत्कृष्ट इभेन्ट्स हो यो।’

छोटो समयको तयारीले प्रतियोगिता गर्दा थुप्रै चुनौति भएपनि त्यसलाई समाधान गर्दै अगाडी बढिरहेको हमालले बताए। ‘हामीले यस प्रतियोगितामा जतीसक्दो स्थानीयहरुको सहभागिता र सहकार्यलाई जोड दिएको छौं,’ उनले भने, ‘निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्ने प्रयास गरेका छौं, पहिलो पटक भएर होला सोचे जस्तो सहकार्य हुन सकेको छैन्।’

परिषद्का सदस्य–सचिव विश्वामित्र संज्यालले काँक्रेविहार खुला पुरुष म्याराथन र स्कुल स्तरीय पाँच किलोमिटर दौडले समग्र कर्णालीको खेलकुद गतिविधिलाई बढाउन उर्जा थप्ने बताए। ‘कर्णालीले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा नेपालको पहिचानलाई बढाएको छ, कर्णाली पूर्वाधारमा कमजोर र प्रतिभा धेरै भएको ठाउँका रुपमा चिनिन्छ,’ उनले भने, ‘तर, अब त्यो परिवेशमा परिवर्तन हुँदैछ, हामी प्रतिभामात्र होइन ठुला प्रतियोगिता पनि गर्न सक्छौं भन्ने सन्देश दिन चाहन्छौं।’

कर्णालीले १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी गरिरहेको बेला पूर्वाधार निर्माणमा निकै फड्को मारिरहेको सदस्य–सचिव संज्यालले बताए। सुर्खेत जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग रहेको प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख ६० हजार बजेट आवश्यक पर्ने आयोजकले बताएको छ। त्यसमा कर्णाली प्रदेश खेकलुद परिषद्ले ६ लाख रकम सहयोग गरेको छ। अन्य अपुग रकम आयोजकले निजीस्तरबाट जुटाउने प्रयास गरिरहेको छ।  

म्याराथनका ‘रेस डिरेक्टर’ विक्रमजंग थापाले कर्णालीमा हुन लागेको म्याराथनले कर्णाली क्षेत्रको एथलेटिक्स विकासमा नयाँ उचाई थप्ने विश्वास व्यक्त गरे। ‘म्याराथन गर्न सहज छैन्,’ उनले भने, ‘यसको प्रत्यक्ष फाइदा यस क्षेत्रका खेलाडीले लिनेछन्, भविष्यमा कर्णालीका अरु थुप्रै खेलाडीलाई पदक जित्न यसले सहयोग गर्नेछ।’

प्रतियोगिता अन्तर्गत हाफ म्याराथनतर्फको विजेताले ७१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले ३१ हजार, चौथोले २० हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार रुपैयाँ पाउनेछन्। विद्यालयतर्फको ५ किलोमिटर विजेता छात्र–छात्राले समान रुपमा १० हजार, दोस्रोले ७ हजार र तेस्रोले ५ हजार पाउनेछन्। प्रतियोगिताको रुट वीरेन्द्रचोक चोकबाट बुलबुले, विमानस्थलचोक, पिपीरा, धुलियाबीट, सुब्बाकुना हुँदै फर्किएर बधशाला, हिलेखाली पुल, बाङ्गेसिमल, खोर्केखोला पुल हुँदै पुनः वीरेन्द्रचोकमा आएर समापन हुनेछ।

प्रकाशित: ३ असार २०७९ १५:१८ शुक्रबार