खेल

जितको एकदम नजिक पुगेर हारिरहेका छौँ: कप्तान लामिछाने

आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ। घरेलु टोली अमेरिकाले जितका लागि प्रस्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ सबै विकेट गुमाउँदै २०६ रनमा समेटियो।

नेपालका लागि आरिफ सेखले अर्धशतकीय पारी खेले। उनले ६३ रन बनाए भने सोमपाल कामी ४७ र देव खनालले ३४ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन्। आरिफले ७६ बलमा ३ चौकासहित ६३ रन प्रहार गरेर क्याच आउट भए भने सोमपाल कामी ७२ बलमा १ चौकासहित ४७ रन बनाएर रन आउट भएका थिए।

त्यस्तै देव खनालले ४७ बलमा २ चौका र १ छक्काको सहयोगमा ३४ रन बनाएर रन आउट भए। नेपालका लागि अन्य ब्याट्सम्यान कुशल भुर्तेलले २९ बलमा १० रन, आसिफ सेखले १५ बलमा १८, रोहित पौडेलले १९ बलमा १६, दिपेन्द्र सिंह ऐरीले ११ बलमा ७ रन, मोहम्मद आदिल आलमले १० बलमा ४ रन, करण केसीले ३ बलमा १ रन बनाए भने सागर ढकाल १ रनमा अविजित रहे।

कप्तान सन्दिप लामिछानेले खाता नै खोल्न सकेनन्। अमेरिकाका लागि सौरभ नेत्रभाल्कर र अलि खानले समान ३/३ विकेट लिए भने नोसतुस केन्जिगेले र निसर्ग पटेलले समान १/१ विकेट लिए। टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २४५ रन बनाएको थियो।

अमेरिकाका लागि गजानन्द सिंह ५८ र सुशान्त मोदानीले ५४ रनको अर्धशतकीय पारी खेले आरोन जोन्स ४३, सैटेजा मुक्कामल्लले ३६ रन बनाएका थिए। नेपालका लागि बलिङमा करण केसीले ९ ओभर बलिङ गर्दै ६७ रन खर्चिएर ३ विकेट लिए भने कप्तान सन्दिप लामिछानेले १० ओभर बलिङ गर्दै ४३ रन खर्चिएर २ विकेट लिए।

त्यस्तै सोमपाल कामीले ९ ओभरमा ५७ रन खर्चिएर १ विकेट हात पारे भने दिपेन्द्र सिंह ऐरीले १० ओभरमा ४३ रन दिएर १ विकेट लिए। खेलमा पराजित भएपछि सञ्चारकर्मीहरुसँग बोल्दै कप्तान सन्दिप लामिछानेले हारेका सबै खेल जित नजिक पुगेर हारेको बताउए। उनले सबै खेल जित्ने अवसर रहँदा पनि ब्याटिङमा विकेटको नियन्त्रण गर्न नसक्दा हार्न बाध्य भएको बताए।

कप्तान लामिछानेले ब्याटिङमा साना गल्तीहरु भइरहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए। उनले आफूलाई साथ दिन अन्य स्पिनर बलरहरुले विकेट निकाल्न नसक्नु पनि थप समस्या बनेको बताए। कप्तान लामिछानेले खेल हार्नुमा अनुभवी खेलाडीको कमी भएको र आफू पनि कप्तानमा नयाँ तथा सबै खेलाडीहरु अनुभवहीन भएकोले सिक्दै अघि बढ्नुपर्ने बताए।

उनले आफूले पनि बलिङमा सोचेजस्तो राम्रो गर्न नसकेको भन्दै अबका दिनमा कमजोरीलाई सुधारेर अघि बढ्ने बताए। आगमी खेलमा थप चुनौती रहेको भन्दै उनले खेलाडीहरुलाई थप अभ्यास गराएर खेल राम्रो पस्कने बताए।

उनले भने, ‘जितको एकदम नजिक पुगेर हारिरहेका छौँ। हामीले सबै गेम जित्नुपर्ने हो। तर लास्टमा गएर कन्ट्रोल लुच भइरहेको थियो। ब्याटिङमा साना साना समस्या आइरहेका छन्। मैले पहिला पनि भनेको थिएँ, यी सबै गेम हामीले जित्नुपर्ने थियो। तर अन्तिममा आएर चुकेका छौँ। हामीले यसलाई सुधार गर्नुपर्ने कुरा देखाएको छ। मेराबाहेक अर्को स्पिनरबाट पनि विकेट आयोभने टिमलाई सहयोग हुन्छ। हामी सबै सिक्दैछौँ। एक दुई खेलाडी बाहेक कोहीसँग पनि धेरै अनुभव छैन। म पनि नयाँ नै छु, धेरै कुराहरु सिक्नुपर्ने नै छ। मैले सोचेजस्तो राम्रो गर्न सकेको छैन। आउँदो गेममा हाम्रो लागि चुनौति हुनेछ। मैले सोचेजस्तो पर्फमेन्स यो ४ वटा गेममा आएको थिएन। त्यसले पनि टिमलाई राम्रो हुन सकेन। आउँदो गेममा म आफ्नोतर्फबाट जतिसक्दो सुधार गर्नेछु।’

अमेरिकासँगको हारसँगै नेपाल १६ खेलबाट १५ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ। ७ देश सम्मिलित समूह चरणमा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग टू अन्तर्गतका सबै खेल खेलिसकेको छ।

त्यस्तै २० खेलबाट २८ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छ। नेपाल भन्दामुनि छैटौं स्थानमा १४ खेलबाट १४ अंक जोडेको नामिबिया र २० खेलबाट २ अंक जोडेको पपुवान्युगिनी सातौं स्थानमा छन्।

नेपालले अहिलेसम्म खेलेको १६ खेलमा ७ मा जित र ८ मा हार व्यहोरेको छ भने १ खेल बराबरी खेलेको छ। यो सिरिज अन्तर्गत नेपाल आफ्नो पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो। त्यस्तै तेस्रो खेलमा ओमानलाई ७ विकेटले पराजित गरेको नेपालले चौथो खेलमा अमेरिकासँग ३९ रनको हार व्यहोरेको छ।

प्रकाशित: २ असार २०७९ ०७:३८ बिहीबार

आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिज घरेलु टोली कप्तान सन्दिप लामिछाने