खेल

माबिलको गोल शरण दिने राष्ट्रलाई समर्पण

पेरूविरुद्ध गोल गरेपछि अस्ट्रेलियाका एवेर माबिल।

एवेर माबिलले पेरूविरुद्ध सडन डेथमा गरेको महत्त्वपूर्ण पेनाल्टी गोल आफू र आफ्नो परिवारलाई शरणार्थीका रूपमा शरण दिएको अस्ट्रेलियाप्रतिको कृतज्ञता भएको प्रतिक्रिया दिएका छन्। यससँगै माबिलले शरणार्थी शिविरबाट विश्वकपसम्मको यात्रा तय गरेका छन्।

२६ वर्षीय माबिलले अस्ट्रेलियाका लागि छैटौं पेनाल्टीलाई गोलमा परिणत गरेका थिए। गोलकिपर एन्ड्य्रिु रेडमेनले पेरूको छैटौं पेनाल्टी प्रहार रोकेसँगै अस्ट्रेलियाले कतार विश्वकप २०२२ को टिकट काटेको थियो। अस्ट्रेलियाले इन्टरकन्टिनेन्टल प्लेअफको फाइनलमा पेरूलाई ५–४ ले निरास पारेको थियो।

अस्ट्रेलियाले विश्वकपमा स्थान बनाएको यो लगातार पाँचौं पटक हो। अस्ट्रेलियाले विश्वकपमा स्थान बनाएसँगै माबिलले टोलीका लागि निर्णायक गोल गर्न पाउँदा भावुक भएको बताए। ‘मलाई, पेरूविरुद्ध गोल गर्छु भन्ने थाहा थियो। यो गोल म र मेरो परिवारको तर्फबाट अस्ट्रेलियालाई धन्यवाद दिने राम्रो माध्यम थियो,’ माबिलले भने।

माबिल केन्याको शरणार्थी शिविरमा जन्मिएका थिए। युद्धका कारण माबिलका परिवार केन्याबाट सुडान पसेको थियो। सन् २००६ मा भने उनको परिवारलाई अस्ट्रेलियाले आश्रय दिएको थियो। शरणार्थी शिविरमै रहँदा फुटबलप्रति लगाव राख्ने माबिल अस्ट्रेलिया प्रवेशपछि एडिलेड युनाइटेडमा आबद्ध भए। एडिलेडबाट उनी डेनमार्कको एफसी मेटल्यान्डमा आबद्ध भए। हाल उनी टर्किस क्लब कासिम्पासाबाट व्यावसायिक फुटबल खेल्छन्।

‘म छाप्रोमा जन्मिएको हुँ, सानो छाप्रोमा। यहाँ भएका होटलका कोठा हामी शरणर्थीका रूपमा बसेका छाप्राभन्दा धेरै ठूला छन्,’ उनले भने, ‘अस्ट्रेलियाले हामीलाई आश्रय दियो। म, मेरो परिवार र साथीभाइलाई नयाँ जीवन दियो। त्यसैले नयाँ जीवन दिएको अस्ट्रेलियालाई धन्यवाद दिने योभन्दा सुनौलो अवसर अरू हुन सक्दैन।’

प्रशिक्षक ग्राहम अर्नोल्डको प्रशिक्षणमा माबिलले निरन्तर अवसर पाइरहेका छन्। माबिल आफ्नो प्रदर्शनले अन्य शरणार्थीको पनि मनोबल बढेकोमा विश्वस्त छन्। ‘मैले गोल गरें, मेरा टोलीका अन्य साथीहरूले पनि गोल गरे। सबैले आफूलाई दिइएको जिम्मेवारी पूरा गरे,’ उनल भने, ‘सम्भवतः एउटा शरणाार्थी केटोको गोलले विशेष महत्त्व राख्यो होला।’

अस्ट्रेलियाले गत साता प्लेअफ सेमिफाइनलमा युएईलाई २–१ ले हराएको थियो। अर्नोल्डले रेडमन उत्कृष्ट गोलकिपर भएको र उनी टोलीका लागि पेनाल्टी सुटआउटमा निर्णायक साबित हुने भन्दै इन्जुरी समयको अन्तिम मिनेटमा कप्तान म्याथ्यु रायनको स्थानमा मैदान प्रवेश गरेको बताए। ‘मैले पेरूलाई मानसिक रूपमा दबाब दिनकै लागि रेडमनलाई मैदान प्रवेश गराएको थिएँ,’ अर्नोल्डले भने, ‘मैले जोखिम मोलेको थिएँ र त्यो सफल पनि भयो।’

प्रकाशित: १ असार २०७९ ०२:२८ बुधबार

माबिलको गोल शरण दिने राष्ट्रलाई समर्पण