खेल

हल्यान्ड ग्वार्डिओलाको प्रशिक्षणमा विश्वस्त

जर्मन बुन्डेसलिगाको क्लब बोरुसिया डर्टमन्डबाट सोमबार इङ्लिस प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीसँगको अनुबन्धन प्रक्रिया पूरा गरेका इर्लिङ हल्यान्डले पेप ग्वार्डिओलाको प्रशिक्षणमा थप सुधारिएको प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताएका छन्।

सिटीले गत महिना युरोपका अन्य शीर्ष टोलीलाई पछि पार्दै हल्यान्डलाई इत्तिहाद रंगशालामा ल्याउन सफल भएको घोषणा गरेको थियो। हल्यान्डलाई सिटीले डर्टमन्डबाट ५१ मिलियन युरोमा अनुबन्धित गरेको हो। २१ वर्षे हल्यान्डले सिटीसँग पाँच वर्षको सम्झौता गरेका थिए।

उनको बुबा एल्फी इंगी हल्यान्डले सन् २००० देखि २००३ सम्म सिटीबाट खेलेका थिए। ‘म इङ्ल्यान्डमै जन्मिएँ र म जीवनभर सिटीकै समर्थक रहें। मलाई यस क्लबको बारेमा धेरै थाहा छ,’ हल्यान्डले भने, ‘मेरा लागि यो नयाँ घर हो। आशा छ, सिटीमा मैले स्वाभाविक लय कायम राख्दै थप उत्कृष्ट प्रदर्शन गर्नेछु।’

उनले डर्टमन्डबाट ८९ खेलमा ८६ गोल गरेका थिए। उनले नर्वेबाट भने २१ खेलमा २० गोल गरेका छन्। उनले यसै महिना मात्र नर्वेबाट चार खेलमा पाँच गोल गरेका थिए। गत वर्ष सर्जियो अग्विरोले सिटी छोडेपछि ग्वार्डिओलाले उनको स्थानमा खेल्न सक्ने खेलाडीको खोजी गरिरहेका थिए।

ग्वार्डिओलाले हल्यान्डलाई भित्र्याउनु नै एउटा सफलता भएको प्रतिक्रिया दिएका थिए। सिटीले गत सिजन टोटनह्यामका कप्तान ह्यारी केनलाई अनुबन्धन गर्ने प्रयास गरे पनि सफल भने हुन सकेको थिएन। सिटीले लिभरपुललाई एक अंकले पछि पार्दै प्रिमियर लिगको उपाधि रक्षा गरेको थियो। सिटीले पछिल्लो पाँच सिजनमा चार पटक प्रिमियर लिगको उपाधि जितेको छ।

‘मलाई आशा छ, पेप ग्वार्डिओलाको प्रशिक्षणमा मैले स्वाभाविक लय कायम राख्दै थप उत्कृष्ट प्रदर्शन गर्नेछु,’ हल्यान्डले भने, ‘आशा छ, मैले धेरै गोलसमेत गर्नेछु। हामी एकअर्कासँग काम गर्न पाउँदा खुसी छौँ।’ सिटीमा ६ सिजन रहँदा ग्वार्डिओलाले नौ प्रमुख उपाधि जिते तर पनि टोलीलाई च्याम्पियन्स लिगको उपाधि भने जिताउन सकेका छैनन्।

मेमा सम्पन्न च्याम्पियन्स लिग सेमिफाइनलमा सिटी रियाल मड्रिडसँग समग्रमा ६–५ ले पराजित भएको थियो। हल्यान्डले डर्टमन्ड र आरबी साल्जबर्गबाट च्याम्पियन्स लिगमा १९ खेलमा २३ गोल गरेका छन्। ‘म सिटीबाट धेरै उपाधि जित्न चाहन्छु,’ हल्यान्डले भने, ‘म सिटीको सफलताको एउटा पात्र हुनेमा विश्वस्त छु। टोलीमा उत्कृष्ट खेलाडीको बाहुल्यता छ। उनीहरूसँग मैले धेरै कुरा सिक्ने अवसर समेत पाउनेछु।’

प्रकाशित: ३१ जेष्ठ २०७९ ०४:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App