खेल

प्रशिक्षक लडेको खेलमा नेपाल पराजित

कुवेतविरुद्ध गोल गरेपछि दर्शन गुरुङ (दायाँ) । तस्बिर सौजन्य: एन्फा

घरेलु टोली कुवेतविरुद्ध ४–१ ले पराजित भएसँगै शनिबार नेपालको एएफसी एसियन कप क्वालिफायरको अघिल्लो चरण प्रवेश गर्ने सम्भावनामा पूर्णविराम लागेको छ। कुवेतको जवर अल अहमाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न समूह ‘ए’ को खेलको नतिजा नेपालका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरी खेलदौरान अर्धचेत भएर लडेको घटनाले छायामा परेको छ।

४८औं मिनेटको खेल जारी रहँदा अल्मुताइरी टच लाइनमा लडेका थिए। उनलाई उठाउन तत्काल सहायक प्रशिक्षक किरण श्रेष्ठ पुगेका थिए। अल्मुताइरी अस्वस्थ भएपछि चार मिनेट खेल रोकिएको थियो। उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइएको थियो। अहिले भने उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् र उनको अवस्था सामान्य रहेको बताइएको छ।

अल्मुताइरीको अनुपस्थितिमा सहायक प्रशिक्षक श्रेष्ठले नेपालको प्रशिक्षण सम्हालेका थिए। कुवेतको जितमा युसुफ नासिरले दुई गोल गरे भने फहाद अल रासिदी र मुवारक अल फानेनीले समान एक गोल गरे। नेपालका दर्शन गुरुङले सान्त्वना एक गोल गरे। सहायक प्रशिक्षक श्रेष्ठले टोलीले पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि अल्मुताइरी लडेको घटनापछि भने लय गुमाएको बताए।

‘हामीले पहिलो हाफमा स्वाभाविक लयअनुसारकै प्रदर्शन गरेका थियौं,’ श्रेष्ठले भने, ‘तर दोस्रो हाफमा मुख्य प्रशिक्षक अल्मुताइरी अर्धचेत भई टचलाइनमै लडे। त्यस लगत्तै हामीले दोस्रो गोल खायौ। त्यसपछि भने हामीले लय गुमायौ र थप दुई गोल खायौं। यद्यपि हामीले निर्धारित समयको खेलमा पनि केही गोलको अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनौं। इन्जुरी समयमा भने सान्त्वना गोल फर्कायौं।’

श्रेष्ठले लगतार दोस्रो हारपछि प्रतियोगिताबाट बाहिरिए पनि अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध सुखद नतिजा ल्याउँदै प्रतियोगिताको सुखद अन्त्य गर्नेमा विश्वस्त रहेको बताए। ‘हामी प्रतियोगिताबाट बाहिरिसकेका छौं,’ श्रेष्ठले भने, ‘तर पनि हामी मंगलबार इन्डोनेसियाविरुद्ध पनि स्वाभाविक प्रदर्शनका साथ सुखद नतिजाका लागि खेल्नेछौं। युवा टोलीले प्रतियोगितामा गरेको जुझारु प्रदर्शनले टोलीको मनोबल बढेको छ।

२८औं मिनेटमा रासिदीले गरेको गोलमा कुवेतले अग्रता लिएको थियो। ४८औं मिनेटमा नासिरले घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए। ७०औं मिनेटमा नासिरसको व्यक्तिगत दोस्रो गोलमा कुवेतले आफ्नो अग्रता ३–० मा पुर्‍याएको थियो। त्यसको तीन मिनेटपछि नै फनिनीले कुवेतको \अग्रता बढाए। इन्जुरी समयको चौथो मिनेटमा नेपालका दर्शन गुरुङले सान्त्वना गोल गरे।

नेपालले कुवेतविरुद्धको आठ भेटमा गरेको यो दोस्रो गोल हो। ४० वर्षअघि वाइबी घलेले कुवेतविरुद्ध गोल गरेका थिए। त्यसयता कुनै पनि नेपाली खेलाडीले कुवेतविरुद्ध गोल गर्न सकेका थिएनन्। नेपालले पहिलो खेलमा जोर्डनलाई २–० को नतिजा सुम्पिएको थियो। नेपालले अन्तिम खेलमा मंगलबार इन्डोनेसियाको सामना गर्नेछ।

कुवेतको भने प्रतियोगितामा यो पहिलो जित हो। कुवेतले पहिलो खेलमा इन्डोनेसियालाई २–१ को नतिजा सुम्पिएको थियो। जोर्डनले भने दुई खेलमा शतप्रतिशत जितसहित अघिल्लो चरण प्रवेशको सम्भावना बलियो पारेको छ। जोर्डनले दोस्रो खेलमा इन्डोनेसियालाई १–० ले हरायो।

दुई खेलको समाप्तिमा जोर्डन ६ अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा छ भने दोस्रो स्थानको कुवेतको समान दुई खेलमा ३ र तेस्रो स्थानको इन्डोनेसियाको समान दुई खेलमा समान ३ अंक छ। नेपालले भने अंकविहीन छ।

प्रकाशित: ३० जेष्ठ २०७९ ०१:३४ सोमबार

मुख्य प्रशिक्षक अल्मुताइरी घरेलु टोली कुवेत प्रशिक्षक लडेको खेलमा नेपाल पराजित