खेल

मकवानपुर गोल्डकपको फाइनल: उपाधिका लागि आर्मी र विजय यूथ भिड्दै

प्रि–म्याच कन्फ्रेन्समा आर्मी र विजय यूथका प्रशिक्षक तथा कप्तान।

हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल भिडन्त भाेलि (साेमबार) हुँदैछ। उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लव र घरेलु टोली विजय यूथ क्लव मकवानपुर भिड्दैछन्।

अघिल्लो वर्ष पनि यी दुई टिमको बीचमा फाइनल खेल भएको थियो। आर्मीले घरेलु टिमलाई हराउँदै तेस्रो संस्करणको उपाधि जितेको थियो। आर्मीले क्यामरुनको एभिनियर एफसीलाई र विजय यूथले नेपाल पुलिस क्लवलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको हो। आर्मीका नियमित खेलाडीहरु राष्ट्रिय टिममा रहेका कारण दोस्रो रोजाईका खेलाडी लिएर मकवानपुर गोल्डकप खेल्न आएको छ। 

आर्मीका ९ जना खेलाडी राष्ट्रिय टिममा रहेका छन्। उपाधिको दावेदारको रुपमा हेरिएको पाहुना टोली क्यामरुनलाई हराउँदै आर्मी उच्च मनोवलका साथ मैदान उत्रिनेछ। आर्मीबाट विकेश कुथु, भरत खवास, विवेक बस्नेत, टेकबहादुर बुढाथोकी, युद्ध शाही, दिनेश हेन्जन, विमल पाण्डे लगायतका चल्तीका खेलाडीहरुले खेलिरहेका छन्।  

यता विजय यूथले पनि ए डिभिजन र राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरुलाई लिएर बलियो टिम बनाएको छ। विजय यूथबाट रजिन धिमाल, सन्जोग राई, छिरिङ गुरुङ, डोना थापा, विमल राना, कुलदीप कार्की, अमिर श्रेष्ठ, अशोक बराल लगायतका नाम चलेका खेलाडीहरु रहेका छन्। मुख्य डिफेन्डर विदेशी खेलाडी पेपे भने दोहोरो पहेँलो कार्डका कारण फाइनल खेल्नबाट बञ्चित हुनेछन्। आर्मी लगातार दोस्रो बर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिनेछ भने घरेलु टोली अघिल्लो बर्षको बदला लिँदै उपाधि कब्जा गर्ने दाउमा हुनेछ।  

आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’ मा दुवै टिमका प्रशिक्षक तथा कप्तानले फाइनल जित्ने दावी गरेका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बलिया दुई टिमलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको स्मरण गर्दै लगातार दोस्रो बर्ष पनि उपाधि जित्नेमा ढुक्क रहेको बताए। ‘हामी डिफेण्डिङ च्याम्पियन पनि हौं। सबै खेलाडीहरु ‘फिट’ छन्,’ उनले भने, ‘हाम्रो लागि यो घरेलु मैदान जस्तै भएको छ। हामीले मकवानपुर आएर पटकपट खेलेका छौं। यसपटक पनि उपाधि जित्नेमा ढुक्क छौं।’ आर्मीका कप्तान भरत खवासले घरेलु टिमसंगको उपाधि भिडन्त कडा र रोमाञ्चक हुने बताए।  

यता विजय यूथका प्रशिक्षक विजयलाल श्रेष्ठले मुख्य डिफेण्डर दोहोरो पहेँलो कार्डका कारण खेल्न नपाउने भएकोले केही समस्या पर्नसक्ने भन्दै घरेलु मैदान भएकोले भने उपाधि जित्न सहज हुने प्रतिक्रिया दिए। ‘आर्मीसंग फाइनल खेल्न पाउँदा हामी पनि खुसी छाैं,’ श्रेष्ठले भने, ‘यसपटक उपाधि मकवानपुरमै राख्ने लक्ष्यका साथ मैदान उत्रिनेछौं।’ विजय यूथका कप्तान अशोक बरालले १२ महिनै टे«निङ गरिरहने आर्मीसंग खेल्न सहज भने नहुने बताए। उपाधि विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ।

यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा जिल्लाका स्थानीय तहको सहयोगमा मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको हो।

प्रकाशित: २९ जेष्ठ २०७९ १३:३० आइतबार