खेल

अस्ट्रेलिया विश्वकप छनोट नजिक

बलका लागि प्रतिस्पर्धा गर्दै युएईका काइयो केनेडो (सेतो) र अस्ट्रेलियका ज्याक्सन इर्भिन ।

एड्जिन हुस्टिकले खेल सकिन ६ मिनेट बाँकी रहँदा संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध विजयी गोल गरेपछि अस्ट्रेलिया २–१ को जितका साथ कतार विश्वकप २०२२ को छनोटनजिक पुगेको छ। एसियाली क्षेत्रको प्ले अफमा युएईलाई २–१ ले पराजित गर्दै अस्ट्रेलिया विश्वकप छनोट नजिक पुगेको हो।

इन्ट्य्राक्ट फ्य्रान्कफर्टका हुस्टिकले ८४औं मिनेटमा गरेको गोल अस्ट्रेलियाका लागि मूल्यवान् भएको हो। यसअघि ५३औं मिनेटमा ज्याक्सन इर्भिनको गोलमा अस्ट्रेलियाले अग्रता लिएको थियो। तर उसले अग्रता लामो समय टिकाउन सकेन। त्यसको चार मिनेटपछि नै सियाओ कानेडोले युएईलाई खेलमा फर्काएका थिए।

अस्ट्रेलियाले कतार विश्वकपमा स्थान बनाउन अब सोमबार इन्टरकन्टिनेन्टल प्लेअफमा पेरूसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। यता सन् १९९० पछि विश्वकप खेल्ने युएईको लक्ष्य २०२२ मा पनि पूरा हुन सकेन। युएईमाथिको जितपछि अस्ट्रेलियाका प्रशिक्षक ग्राह्म अर्नोल्डले आगामी खेलमा आफूले टोलीबाट अझै अपेक्षा राखेको प्रतिक्रिया दिए।

पेरूसँगको खेलका लागि टोलीमा धेरै सुधारको आवश्यकता रहेको प्रशिक्षक अर्नोल्डले औंल्याए। ‘आजको खेलमा टिमप्रति म ५० प्रतिशत खुसी छु। आउँदो खेलमा अझै धेरै विषयमा गृहकार्य गर्नु छ,’ प्रशिक्षक अर्नोल्डले भने, ‘विश्वकप यात्रा विश्वकपभन्दा कठिन छ। आउँदो खेल निकै चुनौतीपूर्ण छ। राम्रो खेलेर नतिजा निकाल्नुबाहेकको अर्को विकल्प हामीसँग छैन।’

उता पराजित टोली युएईका अर्जेन्टिनी प्रशिक्षक रोडोल्फो अरूबारेनाले फिटनेसका कारण अन्तिम १५ मिनेट आफ्नो टोलीले खेल्न नसकेको स्वीकार गरे। ४० हजार दर्शक क्षमता भएको रंगशालामा युएईलाई समर्थन गर्न ४ हजार दर्शक उपस्थित थिए। यसो हुँदा पनि टोलीले उच्च मनोबलका साथ प्रदर्शन गर्न सकेन।

प्रकाशित: २६ जेष्ठ २०७९ ०३:४९ बिहीबार

अस्ट्रेलिया विश्वकप छनोट नजिक एड्जिन हुस्टिक