खेल

एएफसी एसियन कप छनोटः नेपाल जोर्डनसँग पराजित

एएफसी एसियन कप, २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ। कुवेतको जबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा जोर्डनले नेपाललाई २–० गोल अन्तरले हराएको हो।

खेलको पहिलो हाफमा नेपाल र जोर्डनले गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा भने जोर्डनले दुई गोल गर्‍यो। पहिलो हाफको ४३औँ मिनेटमा नेपालका गोलकिपर दीप कार्कीले जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाउन सफल भएका थिए। उनले जोर्डनसँगको खेलमा डेब्यु गरेका हुन्। गौतम श्रेष्ठले जोर्डनका मोहमद फैजललाई पेनाल्टी बक्सभित्र लडाएपछि पेनाल्टी पाएको हो।  

दोस्रो हाफमा जोर्डनका लागि अली ओल्वान र हाम्जा अल दारदौरले एक एक गोल गरे। ओल्वानले खेलको ६९औँ मिनेटमा तथा दारदौरले खेलको ८२औँ मिनेटमा गोल गरेका थिए। नेपाल भने गोल गर्नबाट चुक्यो। नेपाल अङ्क तालिकाको पुछारमा रहेको छ। नेपालले अर्को खेल शनिबार कुवेतसँग खेल्नेछ। 

प्रकाशित: २६ जेष्ठ २०७९ ०३:४३ बिहीबार

एएफसी एसियन कप ‘ए’ को खेलमा नेपाल जोर्डनसँग पराजित अन्तर्राष्ट्रिय रङ्गशाला