खेल

अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि

पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ। बसुन्धारा नेसनल एकेडेमी (बिएनए) को आयोजनामा पाँचौं संस्करणको अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा सिनियर ब्वाइज, जुनियर ब्वाइज र गल्र्समा गरी जम्मा ३८ टोलीले प्रतिस्पर्धा गर्ने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइजमा १९, जुनियर ब्वाइजमा १२ तथा गल्र्समा सात टोलीले प्रतिस्पर्धा गर्दै छन्।

लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताका खेल वसुन्धारामा हुनेछन्। पत्रकार सम्मेलनमा प्रिन्सिपल चापागाईंले कोभिड–१९ का कारण विद्यालय खेलकुद सीमित भइरहेको अवस्थामा यो प्रतियोगिताले विद्यालयमा खेलकुदको वातावरण फर्काउन केही हदसम्म सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले कोभिडकै कारण बिएनए कपको दुई संस्करण पनि आयोजना गर्न नसकिएको बताए। प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख रूपैयाँ खर्च हुने बिएनएका संयोजक सन्तोष फुयालले जनाए। बिएनएका अध्यक्ष प्रमोद श्रेष्ठ र बास्केटबल प्रशिक्षक नारायण खवासले प्रतियोगिताको विविध पक्षबारे प्रकाश पारेका थिए। फाइनल असार १ गते हुनेछ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०६:३१ सोमबार

पाँचौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बसुन्धारा नेसनल एकेडेमी (बिएनए) को आयोजना