खेल

मकवानपुर गोल्डकप सुरु, उद्घाटन खेलमा सिमरा विजयी

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा बिहीबारबाट हेटौंडामा सहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिगता सुरु भएको छ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको गोल्डकपमा नव जनजागृति युवा क्लव सिमराले विजय यात्रा सुरु गरेको छ। उद्घाटन खेलमा सिमराले सर्लाहीको बागमती युवा क्लवलाई २–० गोल अन्तरले हराएको हो।

सिमराको जितमा विवेक चौधरी र कृपाकान्त चौधरीले गोल गरेका थिए। खेलको आठौं मिनेटमा विवेकको गोलबाट सिमराले अग्रता लिएको थियो। ८० औं मिनेटमा कृपाकान्तले अग्रता दोब्बर बनाए। सर्लाहीले खेलमा केही राम्रा अवसर पाएको भएपनि गोल निकाल्न नसक्दा निराश हुँदै घर फर्किन बाध्य भएको छ। खेलको म्यान अफ द म्याच सिमराका विवेक चौधरी घोषित भए। उनले नगद १० हजार र ट्रफी प्राप्त गरे। ३० गतेसम्म सञ्चालन हुने चौथो संस्करणको मकवानपुर गोल्डकपमा १२ क्लवको सहभागिता रहेको छ।

प्रतियोगितामा शुक्रबार बीफसी भरतपुर र चर्च ब्वाइज क्लवको बीचमा खेल हुनेछ। आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाको अध्यक्षता एवम् प्रतियोगिता संयोजक प्रताप बिष्टको संयोजकत्वमा भएको उद्घाटन समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो। प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा नव जनजागृति र बागमतीसंगै त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्चब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको छ। प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

प्रकाशित: १९ जेष्ठ २०७९ १४:२३ बिहीबार