खेल

उनको परीक्षा मलेसियामा!

उनका साथी आज (सोमबार) बाट सुरु हुने उच्च माध्यमिक (१२) को वार्षिक परीक्षामा सामेल भए। तर कृत्तिका मरासिनी भने ट्वान्टी–२० विश्वकप सपना साकार पार्ने लक्ष्य लिएको नेपाली यु–१९ महिला क्रिकेट टोलीको नेतृत्व सम्हाल्दै केही दिनमै मलेसियामा क्रिकेटको परीक्षा दिने तयारीमा छिन्।

सो परीक्षााले नेपाली यु–१९ महिला क्रिकेट टोलीको आगामी यात्राको बारेमा निर्धारण गर्नेछ। नेपालले जुन तीनबाट मलेसियामा सुरु हुने आइसिसी महिला ट्वान्टी–२० अन्तर्गत एसिया क्वालिफायर २०२२ मा प्रतिस्पर्धा गर्दै छ। लेग स्पिनर कृत्तिका मरासिनी बुटवलकै न्यु होराइजन स्कुलमा होटल म्यानेजमेन्ट संकायमा कक्षा १२ मा अध्ययनरत छिन्।

‘आजबाट १२ को वार्षिक परीक्षा सुरु भयो र मेरा सबै साथी परीक्षा दिँदै छन्। म भने राष्ट्रिय टोलीको जिम्मेवारीमा छु,’ कृत्तिकाले भनिन्, ‘मेरा लागि यो नै ठूलो परीक्षा हो। शीर्ष स्थानमा बस्दै टोलीलाई विश्वकपमा छनोट गराउनु नै हाम्रो लक्ष्य हो। छनोट चरणको परीक्षा पार गर्न सकेमा समग्र राष्ट्रले हामीमाथि गर्व गर्र्नेछ। उच्च शिक्षा हासिल गर्ने लक्ष्य पनि रहेको छ। १२ को वार्षिक परीक्षा आगामी वर्ष दिनेछु। अहिले म प्रशिक्षणमा केन्द्रित छु।’

नेपालले पहिलो पटक यु–१९ ट्वान्टी–२० महिला विश्वकप छनोट खेल्न लागेको हो। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कृत्तिकाको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो। कृत्तिका क्यानले आफूलाई टोली नेतृत्वको जिम्मेवारी दिए पनि टोलीमा रहेका सबै खेलाडी नेतृत्व लिन सक्षम रहेको बताउँछिन्। उनको लक्ष्य उमेर समूहमा उत्कृष्ट प्रदर्शनका साथ सिनियर महिला टोलीमा समेत स्थान बनाउने रहेको छ।

प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार छ। नेपालले कतारसँग जुन ३ मा खेल्दै छनोट चरणको सुरुआत गर्नेछ।

यस्तै नेपालले दोस्रो खेलमा युएईविरुद्ध जुन चारमा खेल्दा भुटानविरुद्ध जुन ६ मा खेल्ने तालिका छ। नेपालले चौथो खेल जुन सातमा थाइल्यान्डसँग र जुन ९ मा आयोजक मलेसियाविरुद्ध खेल्नेछ। छनोटको शीर्ष टोलीले दक्षिण अफ्रिकामा अर्को वर्ष हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछ। नेपालले भने छनोट खेल पहिलो पटक खेल्न लागेको हो। यु–१९ ट्वान्टी–२० महिला विश्वकप छनोटमा कुल १६ टिमको सहभागिता रहनेछ।

‘हामी पछिल्लो एक महिनादेखि निरन्तर प्रशिक्षणमा छौं,’ कृत्तिकाले भनिन्, ‘टोलीको तयारी राम्रो छ। हाम्रो ब्याटिङ र बलिङ पक्ष नै सुदृढ छ। त्यसैले सुखद नतिजाका साथ टोलीले लिएको लक्ष्य प्राप्त हुनेमा विश्वस्त छु।’

कृत्तिका २०७५ सालमा लुम्बिनी बोर्डिङ स्कुलमा कक्षा आठमा पढ्दै गर्दा क्रिकेट प्रशिक्षणमा सहभागी भएकी थिइन्। एक वर्ष विद्यालयमै प्रशिक्षणपछि उनले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै धनगढीमा मुख्यमन्त्री कप, नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद र काठमाडौंमै सम्पन्न पहिलो संस्करणको महिला क्रिकेट लिगमा विराटनगर टाइटन्सबाट खेलेकी थिइन्।

प्रकाशित: १७ जेष्ठ २०७९ ०५:२९ मंगलबार