खेल

मकवानपुर गोल्डकपको उद्घाटनमा बागमती र सिमरा भिड्ने

यही जेठ १९ गतेबाट हेटौंडामा सञ्चालन हुन लागेको सहीद स्मृति स्थानीयतह मकवानपुर गोल्ड कपको उद्घाटनमा सर्लाहीको बागमती युवा क्लव र सिमराको नव जनजागृति क्लव खेल्ने भएका छन्। आयोजक मकवानपुर जिल्ला फुटबल संघले सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै खेल तालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा १२ क्लवको सहभागिता रहेको छ। हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगितामा विभागीय क्लवहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मस्र्याङ्दी क्लव, फ्रेण्डस्, खुमलटार युथक्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, बीएफसी चितवन, चर्च ब्वाइज क्लव र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको छ।

यस वर्ष प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। अघिल्लो वर्षको भन्दा यस वर्ष पुरस्कार राशी वृद्धि गरिएको छ।

अघिल्लो वर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए। प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ। फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल पाउने प्रतियोगिता संयोजक प्रताप बिष्टले जानकारी दिए। अघिल्लो वर्षझैं यस वर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडा स्कुल अफ म्यानेजमेण्टका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन्।

सर्वोत्कृष्ट खेलाडी छनौटका लागि आयोजक मकवानपुर जिल्ला फुटबल संघले समिति समेत बनाएको छ। ३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी करिब सकिएको आयोजक फुटबल संघ मकवानपुर अध्यक्ष टीकाराम लामाले जानकारी दिए।

प्रकाशित: १६ जेष्ठ २०७९ १४:२१ सोमबार