गणतन्त्र दिवस २०७९ को अबसरमा बुटवलमा खुल्ला दौड (रोड रेस) प्रतियोगिता सम्पन्न भएको छ। लुम्बिनी प्रदेश शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय र लुम्बिनी प्रदेश खेलकुद परिषदको संयुक्त आयोजनामा शनिबार प्रदेशको अस्थायी मुकाम बुटवलमा दौड प्रतियोगिता सम्पन्न भएको हो।
पाँच किलोमिटर खुल्ला दौड प्रतियोगिताको उपाधि कपिलबस्तुको बाणगंगा बहुमुखी क्याम्पस लौगाईका अजय पाण्डेले जिते। महिला तर्फको दौडको उपाधी दाङको घोराहीकी अनिषा चौधरीले जितेकी छन्।
कपिलबस्तुका पाण्डेले १६ मिनेट ३० सेकेन्डमा पाँच किलोमिटर दूरी पार गरेर उपाधि जितेका हुन्। १७ मिनेट ४२ सकेन्डमा सो दूरी पार गरेका बुटवलको नविन औधोगिक माविका प्रशान्त थापा दोश्रो भए। कालिका मानवज्ञान मावि बुटवलका राजन बलालले १८ मिनेट १२ सेकेन्डमा दूरी पार गर्दै तेश्रो भए।
महिला तर्फ दाङको घोराहीकी अनिषा चौधरीले २२ मिनेट २७ सकेन्डमा दूरी पार गर्दै प्रथम भइन्। बुटवलको कालिका मानवज्ञान माविकी अन्जना पाण्डेले २९ मिनेट १३ सेकेन्डमा पार गरी दोश्रो भइन्। ३० मिनेटमा सो दूरी पार गर्दै कालिका मानवविज्ञान माविकै सन्जना अधिकारी तेश्रो भइन्।
प्रतियोगिताको लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गर्दै खेलकुदको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिएको बताए। लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराइले प्रदेशमा खलकुद क्षेत्रको विकासका लागि भौतिक विकासंगै खेलाडीहरुको वृत्ति विकासमा सहयोग पुर्याउने बताए। प्रतियोगिताका विजेतालाई आइतबार गणतन्त्र दिवसका अवसरमा आयोजना गरीने विशेष समारोहमा पुरस्कार प्रदान गरीने भट्टराइले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेले १० हजार, दोश्रोलाई ८ हजार र तेश्रो पुरस्कार ५ नगदसहित प्रमाणपत्र प्रदान गरीने सदस्य सचिव भट्टराइले जानकारी दिए। प्रतियोगितामा रुपन्देही, कपिलबस्तु, दाङ, पाल्पा, नवलपरासी, गुल्मीलगायतका जिल्लाबाट एक सय बढी खेलाडी सहभागी थिए।
प्रकाशित: १४ जेष्ठ २०७९ १५:१३ शनिबार