खेल

दुर्गामानको नयाँ राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौल समूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन्। राजाराम सिलवाल दोस्रो भए।

राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए। उनले ६० केजी तौल उठाए। दीपक तिमल्सिना दोस्रो तथा सोमनाथ राई तेस्रो भए।

६५ केजीमा ठाकुर श्रेष्ठले शीर्ष स्थान हात पारे। उनले ९० केजी उचाले। निर्मल श्रेष्ठले रजत तथा विष्णुपुकार श्रेष्ठले कांस्य जिते। ७२ केजीमाथि किरणकिशोर सापकोटाले ९० केजी वजन उठाउँदै स्वर्ण जिते।

शरद् पौडेल दोस्रो तथा भरत बिसी तेस्रो बने। महिला खुलामा सरिता थुलुङ पहिलो भइन्। सरिताले ५२ केजी भार वहन गरिन्। निर्मला भणडारी दोस्रो तथा टिना महर्जन तेस्रो भए। विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदी, आयोजक संघका अध्यक्ष टेकबहादुर गुरुङ लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। 

प्रकाशित: १० जेष्ठ २०७९ ०२:३१ मंगलबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) पारा राष्ट्रिय खेलकुद