खेल

अन्तर्राष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चरमा नेपाली सेनाको वर्चस्व

प्रथम कोअस अन्तर्राष्ट्रिय हाईअल्टिच्युट ट्राय एडभेन्चर कम्पिटिसनको उद्घाटन। तस्बिर साैजन्यः सुन्दर थकाली

मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम कोअस अन्तर्राष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चर कम्पिटिसन २०२२ को उपाधि पुरुषतर्फ आर्मीकै ए टिमले जित्दा महिला तर्फ भने हिमालयन गल्फले जितेको छ।

क्लाईम्बिङ–दौड–साईक्लिङ प्रतिस्पर्धामा चारदेश नेपाल, भारत, बंगलादेश, बेलायतको सहभागिता रहेको थियो। शनिबार आयोजित प्रतिस्पर्धामा आर्मीको ए टिमका हिमाल टमटा र मानबहादुर थापाको जोडीले उपाधि जितेको छ। टमटा र थापाको जोडीले १ घण्टा १५ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्।

त्यसैगरी आर्मीकै बी टोलीका बसन्त थारु र नवरान न्यौपानेले १ घण्टा १७ मिनेटमा पुरा गर्दै दोस्रो पुरस्कार थाप्यो। आर्मीकै सी टोलीका कमल ओली र प्रेमसिंह अर्यालले भने १ घण्टा २१ मिनेटको समयमा पुरा गर्दै तेस्रो स्थान आउन सफल भए।

हिमाल टमटा गत चैतको दोस्रो साता पोखरामा आयोजित दुवाथोलनमा स्वर्णपदक जितेका समेत हुन्। पोखरामै आयोजित साउथ एशियन ट्रायथोलन च्याम्पियनसिप अन्तर्गत राष्ट्रिय प्रतिस्पर्धा थारुले १ घन्टा ३ मिनेट २ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण पदक जितेका थिए।  

महिलातर्फको प्रतिस्पर्धामा हिमालयन गल्फ का भूमी बुढामगर र ईन्द्रकला नेम्वाङको जोडीले जिते। उनीहरुले १ घण्टा ४३ मिनेटको समय लगाए। दोस्रो स्थानमा रहेका नेपाली सेनाको ए टोलीका उषा खनाल तथा मन्जुकुमारी खड्काको जोडीले १ घण्टा ५० मिनेटको समयमा पूरा गरेका थिए।  

तेस्रो स्थानमा आर्मीकै ईश्वरी थापामगर र सुधा राईको जोडीले प्राप्त गरे। उनीहरुले भने २ घण्टा १८ मिनेटको समय लगाउँदै दुरी तय गरेका थिए। महिला तर्फको विजेताले तीनलाख, दुई लाख र एक लाख नगद पुरस्कार प्राप्त गर्दा पुरुष तर्फ भने विजेताले ३ हजार डलर, दोस्रो हुनेले २ हजार डलर र तेस्रो हुनेले १ हजार डलर पुरस्कार प्राप्त गरेका छन्।  

दुई संस्करण राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो। तेस्रो संस्करणमा आईपुग्दा नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको बनाएको छ। नेपाली सेनाको जोमसोमस्थित क्लाइम्बिङ वाल (पहाड)मा प्रतिस्पर्धा गराइएको थियो। प्रतिस्पर्धामा १ सय मिटर क्लाईम्बिङ, ४.७५ किलोमिटर दौड र १५.३५ किलोमिटर साईक्लिङ समावेश गरिएको थियो।  

नेपाली सैनिक प्राविधिक तालिम तथा खेलकुद शाखा जोमसोमको समन्वयमा आयोजित प्रतिस्पर्धामा बेलायतबाट ४ जना, भारतबाट २ जना, बंगलादेशबाट २ र नेपालबाट ३६ जनाको सहभागिता रहेको थियो। पहाडमा क्लाईम्बिङ गरेर पाण्डासम्म दौडेका थिए।  पाण्डा खोलाबाट साईक्लिङ गरेर ढिनी, ढुम्बा लेक, स्याङ हुदैं जोमसोमस्थित आर्मी क्याम्प (ब्यारेक)मा पुगेर टुंगिएको थियो।  

प्रकाशित: ७ जेष्ठ २०७९ ०९:१९ शनिबार

नेपाली सेना हाईअल्टिच्युट ट्राय–एडभेन्चर