खेल

बुद्ध जयन्तीको दिन भक्तपुरमा सम्पदा साइकल यात्रा हुने

साइकल यात्रा सुरु हुने बौद्ध विहार इनाचो भक्तपुर ।

बुद्ध जयन्तीको अवसरमा बुद्ध जयन्ती समारोह समिति, मुनि विहार इनाचो भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजनामा भक्तपुरमा रहेका बौद्ध सम्पदाको साइकलमार्फत् अध्ययन भ्रमण हुने भएको छ। यात्रामा सहभागीहरुले भक्तपुरका विभिन्न महाविहार, बाहाबही तथा चैत्यहरूको अध्ययन भ्रमण गर्ने जनाइएको छ।

साइकल यात्रा ३१ वैशाख शनिबारको दिन बिहान ७ बजे धर्मोत्तम महाविहार (मुनि विहार) इनाचो खँचाबाट सुरू हुने जनाइएको छ। त्यहांँबाट इन्द्रवर्ण महाविहार इनाचो, मंगल धर्मदीप महाविहार ( झौरबही) गोलमढी, लुँ बहा, सुकुलढोका चतुरब्रह्म महाविहार साकोठाबाट टौमढी हुँदै अखण्डशील महाविहार–बोलाछेँ, नासमना पुग्नेछ।

त्यहाँंबाट पुनः खौमा बहा–खौमा, पद्मपानी लोकेश्वर (लस्क द्य)– इनाछेँ, जेतवर्ण महाविहार – तेखापुखु, कुटु बही– भार्वाचो, थथु बही–नः पुखू, पुण्य जेतवन महाविहार– इटाछे पुग्नेछ। त्यहाँंबाट पुनः भक्तपुर दरबार स्वायर–बालाखु–त्रिपुरासुन्दरी–छुमागणेश–महालक्ष्मी–वाउँ बहा, बेखाल, प्रशन्नशील महाविहार– क्वाथन्दौबाट नवदुर्गा– गछें पुग्नेछ। त्यहाँंबाट आदिपद्म महाविहार–सूर्यमढीबाट जेंंला–वाचु टोल हुँदै पुनः मुनिविहारमा पुगेर समापन हुने रुट तयार गरिएको छ।  

इात्राको क्रममा सम्पदा अध्येता तथा लेखक गणेशराम रञ्जितले कार्यक्रमका सहभागीलाई भक्तपुरमा रहेका विभिन्न बौद्ध सम्पदा सम्बन्धित इतिहास तथा किंवदन्तीकोबारे जानकारी दिने छन्। भक्तपुरका युवा पुस्तालाई यहाँका सम्पदाको विषयमा ज्ञान दिन र सम्पदाको महत्व संरक्षणकोबारे सचेत बनाउन अध्ययन भ्रमण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।  

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले कार्यक्रममा सहभागी भएर सम्पदाबारे अध्ययन अवलोक गर्न तथा भक्तपुरमा साइकल संस्कृतिलाई विकास गर्न सबैलाई निमत्रणा गरेका छन् । साथै उनले भगवान बुद्धको शान्ति, मैत्री र करूणाको सु–सन्देश फैलाउन सबैले योगदान गर्न आयोजककोतर्फबाट आह्वन गरेका छन्।

प्रकाशित: २९ वैशाख २०७९ १३:४७ बिहीबार