अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफूविरुद्ध वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभिन्न सार्वजनिक कार्यक्रमको दौरानमा लगाएका आरोप सार्वजनिक गर्दै प्रमाणित गर्न चुनौती दिएका छन्।
ललितपुर स्थित एक होटलमा बुधबार पत्रकार सम्मेलन गर्दै थापाले धेरै आरोप मध्ये मुख्य १४ मात्रै सार्वजनिक गरेको र त्यो प्रमाण पुष्टि गर्न चुनौती दिएका हुन्। थापाले पत्रकार सम्मेलनको मुख्य उद्देश्य 'आरोप प्रमाणित गर्नुस' भन्ने रहेको र संघारमा आउँदै गरेको एन्फाको निर्वाचनसँग कुनैपनि सम्बन्ध नरहेको समेत बताए।
पत्रकार सम्मेलनमा शेर्पाले विभिन्न अनलाइन तथा टिभीमा थापाविरुद्ध दिएको अन्तरवार्ता भिडियोमार्फत् प्रस्तुत गरेका थिए। सोही विषयमा थापाले कपोकल्पित आरोप लगाएको तीन आरोप प्रमाणित गर्न चुनौति दिएका हुन्।
थापाले भने, ‘मलाई लगाएका आरोप आरोप मात्र हुन्। लगाएका २०औं आरोप रहेका छन्। तीन मध्ये कुनै पनि आरोप पुष्टि गर्न चुनौति दिन्छु। यदि पुष्टि भएमा म फुटबलको विषयमा कुनै पनि चर्चा पनि गर्दिन।’
पूर्व अध्यक्ष थापाले आरोप प्रमाणित गर्न नसके वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा र फिफाको नियमअनुसार कारबाहीको भागेदारी बन्नुपर्ने बताए। लामो समय फुटबलमा बिताएको र व्यवस्थापनमा पनि आफूले राम्रो काम गरेको भन्दै वर्तमान अध्यक्षबाट निराधार आरोपले पिडा भएको सुनाए।
एफसीका तत्कालीन अध्यक्ष तथा फिफाका अध्यक्षका उम्मेदवार मोहम्मद बिन हमामबाट व्यक्तिगत सहयोग लिएको स्वीकार गरे। जसको कारण आफूले फिफाको प्रतिबन्ध भोगेको बताए। थापाका छोरा गौरव थापाको खातामा १ लाख डलर जम्मा भएको देखिएपछि फिफाले उनीमाथि अनुसन्धान थालेको थियो।
पैसा लिएको पुष्टि भएपछि २०७२ सालको कात्तिकमा फिफाको नैतिक समितिले थापालाई सबै खाले फुटबल गतिविधिबाट १० वर्ष प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धसहित उनीमाथि करिब २१ लाख रुपैयाँ जरिवाना गरेको थियो। फिफाले सन २०११ मा भएको फिफाको निर्वाचन र २००९ मा एएफसी कंग्रेसमा थापाले घूस लिएको आरोप लगाएको थियो।
प्रकाशित: २८ वैशाख २०७९ १२:५६ बुधबार