खेल

नेपाल पुलिसको लगातार तेस्रो जित

पुलिसविरुद्ध बल प्लेस गर्ने प्रयासमा न्यु डायमन्डकी ललिता नाथ (सेतो)। तस्बिरः नागरिक

घुँडाको चोटका कारण कोर्टबाहिर रहेकी प्रतिभा मालीको टोली न्यु डायमन्ड स्पोर्ट्स क्लब बिहीबार विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुँदा टोलीले राजधानीमा जारी छैटौं आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगअन्तर्गत महिलातर्फको खेलमा लगातार दोस्रो हार व्यहोरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा सम्पन्न खेलमा नेपाल पुलिसले साबिक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई बिहीबार ३–० को सोझो सेटमा पराजित गरेको थियो। स्पष्ट जित निकाल्ने क्रममा पुलिसले न्यु डायमन्डमाथि २५–११, २५–१७, २५–१५ को स्कोर निकालेको थियो। 

जितसँगै पुलिसले आफूले खेलेका तीनमध्ये सबैमा जित हात पारेको छ। यससँगै पुलिसको लिगमा ९ अंक भएको छ। पुलिस शीर्ष स्थानमा छ। न्यु डायमन्डको अंकतालिकामा १ अंक नै रहेको छ। यसअघि भएको खेलमा न्यु डायमन्ड एभरेस्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित हुँदा १ अंक निकालेको थियो।

प्रतियोगिताअन्तर्गत बिहीबार नै सम्पन्न महिलातर्फको दिनको पहिलो खेलमा अर्को विभागीय टोली एपिएफले एभरेस्ट भलिबल क्लबलाई ३–१ ले पराजित गरेको थियो। एपिएफले एभरेस्ट भलिबल क्लबलाई २५–१३, २५–१०, १९–२५, २५–१९ ले पराजित गरेको हो। एपिएफको तीन खेलबाट ६ अंक भएको छ। पहिलो खेलमा एपिएफ पुलिससँग पराजित भएको थियो भने दोस्रो खेलमा एपिएफले आर्मीमाथि ३–१ को सेटमा जित निकालेको थियो। बिहीबारै सम्पन्न पुरुषतर्फको खेलमा गलकोट स्पोर्टस क्लब, हेल्प नेपाल र विभागीय टोली एपिएफले जित निकालेका छन्।

राखेपको कोर्टमा सम्पन्न दिनको पहिलो खेलमा गलकोटले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–२ सेटमा पराजित गर्दै अंक बाँड्न बाध्य भयो। गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो। गलकोटको यो जितसंगै २ अंक भएको छ भने ढोरपाटनको १ अंक भएको छ। यस्तै अर्को खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३–० को सेटमा जित निकाल्यो। हेल्प नेपालले पुलिसमाथि २५–२३, २५–२३ र २५–२० को जित निकाल्दै स्पष्ट ३ अंक जोड्न सफल भएको हो।

यससंगै हेल्प नेपालको ११ अंक भएको छ भने शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबको १२ अंक छ। यस्तै पुरुषतर्फकै अर्को खेलमा एपिएफले गण्डकी प्रदेशमाथि ३–१ को जित निकालेको छ। १८–२५ ले पहिलो सेट गुमाएको एपिएफले त्यसपछिका बाँकी सेटमा जित निकाल्दै तालिकामा स्पष्ट तीन अंक जोड्न सफल भएको हो। पहिलो सेट गुमाएको एपिएफले दोस्रो सेटमा २५–१९, तेस्रो सेटमा २५–१८ र चौथो सेटमा २५–१० जित निकालेको हो। यससँगै एपिएफले चार खेलमा दुई जित निकालेको छ। पहिलो खेलमा आर्मीलाई नतिजा सुम्पिएको एपिएफले दोस्रो खेलमा गल्कोटलाई ३–१ को सेटमा हराएको थियो। तेस्रो खेलमा हेल्प नेपाललाई एपिएफले ३–१ कै सेटमा नतिजा सुम्पिएको थियो। जितसँगै एपिएफको अंकतालिकामा ६ अंक छ।

प्रकाशित: २३ वैशाख २०७९ ०१:३८ शुक्रबार

नेपाल पुलिस