खेल

शर्मा सम्मानित

काठमाडौं जिल्ला खेलकुद विकास समितिले मार्सल आर्ट्सका पूर्वखेलाडी समेत रहेका व्यवसायी केदारनाथ शर्मालाई सम्मान गरेको छ। कलंकीमा शुक्रबार आयोजित आठौं इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपको उद्घाटनका अवसरमा समितिले पूर्व खेलाडी शर्मालाई सम्मान गरिएको हो।

स्वदेशमै उद्यमशीलताको विकास खेल क्षेत्रमा लागेका युवालाई विशेष प्राथमिकतामा राखी सयौं खेलाडीलाई रोजगारीको अवसर प्रदान गरी समग्र खेलाडी र खेलक्षेत्रको विकासमा योगदान पुर्‍याएकाले सम्मान गरिएको काठमाडौं जिल्ला खेलकुद विकास समितिले जनाएको छ।

उनी शिखर अर्गनाइजेसनका प्रमुख हुन्। उक्त संस्थामा शर्माले नेपालका दुई सयभन्दा बढी खेलाडीलाई रोजगारीको अवसर दिएका छन्। उनको सोही योगदानको कदर गर्दै समितिले सम्मान गरेको हो।

बाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्नप्रसाद ढकाल र काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिले शर्मालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। सो अवसरमा समितिका अध्यक्ष कक्षपतिले निजी क्षेत्रको सहयोगबाट नै नेपाली खेलकुदको विकास सम्भव हुने उल्लेख गरे।

प्रतियोगिता अन्तर्गत जुनियर फाइटमा नेपालका रमित महर्जनले भारतका लक्षित हराउँदै स्वर्ण जिते। सिनियरतर्फ नेपालका गुणराज रुचालले भारतका अशोक कुमार, नेपालकी विद्या गुरुङले भारतकी फुटुर्सीलाई तथा नेपालका सञ्जय राईले भारतका फेरिक स्टारलाई हराउँदै स्वर्ण पदक जिते।

उनीहरूलाई बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकाल, नेपाल राष्ट्रिय मुवाँथाईका अध्यक्ष गणेशलाल कक्षपति र शिखर अर्गनाइजेसनका प्रमुख केदारनाथ शर्माले पुरस्कृत गरेका थिए।

प्रकाशित: १७ वैशाख २०७९ ०७:१७ शनिबार

काठमाडौं जिल्ला खेलकुद विकास समिति मार्सल आर्ट्सका पूर्वखेलाडी