खेल

नवौं खेलकुद कुनै हालतमा सर्दैनः मन्त्री गहतराज

युवा तथा खेलकुद मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया तथा पत्रकार भेटघाट’ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज लगायत। तस्बिरः उमेश पुन/नागरिक

युवा तथा खेलकुद मन्त्री महेश्वरजँग गहतराजले नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने बताएका छन्। मन्त्रालयले बुधबार पोखरामा आयोजना गरेको अन्तर्क्रिया तथा पत्रकार भेटघाटमा पत्रकार तथा खेल सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले प्रतियोगिताको तयारी सुस्त भएकौ, चुनावको रन्कोले छोएको, नवौं खेलकुदको मुखैमा कक्षा १२ को परीक्षा परेको लगायतका कारणले प्रतियोगिता नै नहुने हो कि भन्ने आशंका पैदा भएको बताएका थिए।

जवाफमा मन्त्री गहतराजले मन्त्री रिषदले तोकेको जेठ २२ गतेदेखि २८ गतेसम्म हुने भनिएको प्रतियोगिता कुनैपनि हालतमा नसर्ने बताए। कार्यक्रममा उनले भने, ‘तोकिएको मितिमै प्रतियोगिता आयोजना गर्नैपर्छ। यसको विकल्प नै छैन।’ उनले तोकिएको मितिमा नवौं खेलकुद नभए अन्यौलता छाउने बताए। किनकी जेठमा नभएपछि असार र साउन बर्खाको समयमा हुन नसक्ने उनले दोहोर्‍याए। ‘भदौको पहिलो हप्ता संघ र प्रदेशको चुनाव घोषणा हुन्छ। त्यसपछि चुनावअघि हुने कुरा रहँदैन। जसका कारण त्यसपछि कहिले हुन्छ भन्न सकिदैन,’ उनले भने।

मन्त्री गहतराजले केही समयपछि नै ओलम्पिक र एसियन गेम्स हुने भएकाले त्यसका लागि खेलाडी छनौट गर्नका लागि पनि नवौं खेलकुद गर्नुपर्ने बाध्यता रहेको सुनाए। ‘कसैलाई देखाउन वा भुलाउनका लागि मात्रै प्रतियोगिताको मिति तोकिएको होईन। सबै हिसाबले अहिले तोकिएको समय नै उपयुक्त समय हो,’ उनले भने। उनले नवौं खेलकुद प्रतियोगिता खेलका लागि मात्रै नभई मनोरञ्जनसँगै अर्थतन्त्र चलायमान बनाउने अवसर पनि भएको बताए।  

‘पोखरा सुरक्षित छ, पोखरा फेरी एकपटक जानुपर्छ भन्ने सन्देश पनि यस प्रतियोगिताले दिनेछ। जसले अर्थतन्त्र पनि चलायमान गराउन सघाउँछ,’ उनले भने। मन्त्री गहतराजले खेलाडी छनौटमा ढिलासुस्ती भएकोबारे सम्बन्धित प्रदेशलाई प्रश्न गर्न आग्रह गरे। ‘खेलाडी छनौट किन नभएको भन्ने? म पनि त्यहि प्रश्न गर्छु खेलाडी छनौट किन नगरेको प्रदेशले? तपाईंहरुले पनि यहि प्रश्न प्रदेशलाई गर्नूस,’ उनले भने। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि राष्ट्रिय टिम बनाउने, त्यसका लागि खेलाडी छनौट गर्ने संघ सरकारको भएपनि प्रदेशका लागि खेलाडी छनौट गर्ने जिम्मा प्रदेशको भएकाले प्रदेशले आफ्नो जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो।  

उनले अब कहिलेसम्ममा तयार गर्ने हो त्यो प्रदेशले जवाफ दिनुपर्ने बताए। त्यसका लागि प्राविधिक, आर्थिक लगायतका सहयोग संघ सरकारले गर्ने बताए। मन्त्री गहतराजले नवौं खेलकुदको स्वीमिङ र सुटिङ काठमाडौंमा हुनसक्ने बताए। दुबैका लागि पूर्वाधार गण्डकी प्रदेशमा नभएकाले काठमाडौंमा गर्नुपर्ने बाध्यता आइपरेको उनले बताए। तर नीजि स्वीमिङ पुलमा हुने अवस्था भए स्विमिङको इभेन्ट पोखरामै हुनसक्ने सम्भावना पनि उत्तिकै रहेको उनको भनाइ छ।  

 युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले नवौं खेलकुद आयोजना गर्न चुनाव, विद्यार्थीको परीक्षा र बर्खाको समय चुनौतिका रुपमा देखा परेपनि त्यसलाई अवसरका रुपमा सदूपयोग गर्दै प्रतियोगिता आयोजना गर्नुपर्नेमा जोड दिए। उनले प्रतियोगिता गर्न प्रदेश र स्थानिय तहलेपनि बजेटदेखि श्रोत साधनका लागि सहयोग गर्नुपर्ने बताए। साथै उनले पोखरामा हुने नवौं खेलकुदको समापन समारोहबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको होस्ट कर्णालीलाई दिने घोषणासहित झण्डा हस्तान्तरण गरिने जानकारी दिए।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले कोभिड महामारीका बीचपनि संसारभरी प्रतियोगिता भएकाले नेपालमा पनि चुनाव, परीक्षा, बर्खा भनेर नरोकिने बताए। ‘चुनौति वा समस्या उत्पन्न भयो भन्दैमा प्रतियोगिता रोकिदाँ खेलाडी उत्पादनमा, उनीहरुको वृत्ति विकासदेखि मनोवलमासमेत असर पर्छ, त्यसैले चुनौतिका बाबजुद पनि प्रतियोगिता हुन्छ,’ उनले भने। उनले देश खेलकुदमय भइसकेको दाबी गरे। उनले भने, ‘प्रतियोगिता खेलकुदको महोत्सव हो। चुनाव, परीक्षा भनेको खेलाडीका लागि सहायक कुरा हुन्। मुख्य कुरा खेलकुद नै हो त्यसैले यसलाई सफल बनाउन सबै लागौं।’

कार्यक्रममा सहभागि नेपाल हक्की संघ गण्डकी प्रदेशका अध्यक्ष हिमाल खड्का, बक्सिङ, प्रियङ्का वर्मा, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीनानाथ बराल, पत्रकारहरु बिनोद लामिछाने, रोहितराज पराजुली लगायतले समय कम हुँदा खेलाडी छनौटमा समस्या पर्ने, पूर्वाधार नबन्दा अन्यौलता छाएको, खेलाडीले अभ्यास गर्ने मौका नपाएको लगायतका समस्या देखापरेको भन्दै ती समस्या समाधानमा ध्यान दिन सुझाव दिएका थिए।

प्रकाशित: १५ वैशाख २०७९ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App