खेल

रोनाल्ड र बार्सिलोनाबीच सम्झौता नवीकरण

स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोले क्लबसँग सन् २०२६ सम्मका लागि सम्झौता नवीकरण गरेको बार्सिलोनाले मंगलबार जनाएको छ।

मंगलबारको सम्झौतासँगै रोनाल्ड आगामी चार वर्षसम्म बार्सिलोनामा नै रहने भएका छन्। उरुग्वेका २३ वर्षे डिफेन्डरले सन् २०१९ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए। मंगलबार सम्झौता गरेका रोनाल्डलाई बार्सिलोनाले उनको रिलिज क्लजअनुसार एक मिलियन युरो तोकेको क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। बार्सिलोनामा देखिएको आर्थिक मन्दीका कारण क्लबले युरोपका प्रतिष्ठित खेलाडी किनबेचका लागि प्रयास तत्काललाई रोकेको हो।

रोनाल्डलाई भित्र्याउन प्रिमियर क्लबले पनि इच्छा व्यक्त गरिरहेको अवस्थामा आफ्नो आर्थिक पाटोलाई नियाल्दै क्लबले मंगलबार सम्झौता नवीकरण गरेको जनाइएको छ। सन् २०१८ मा बार्सिलोनाको ‘बी’ टिमबाट सिनियर टोलीमा जोडिएका रोनाल्डले सिनियर टोलीमा प्रवेश पाएको वर्ष दिनमा स्पेनिस क्लब सेभियाविरुद्ध डेब्यु गरेका थिए। उक्त खेलमा रोनाल्डले वैकल्पिक खेलाडीको रूपमा १४ मिनेट टोलीबाट खेलेका थिए। क्लबको प्रतिनिधित्व गरिरहँदा रोनाल्डले आपूmलाई सिद्ध गर्न प्रयास गरिरहेको क्लबले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

‘बार्सिलोनाबाट खेल्दा रोनाल्ड स्थापित भइरहेका छन्। उनको उपस्थितिले बार्सिलोनाको वर्तमान र भविष्य राम्रो हुने अपेक्षा क्लबले राखेको छ,’ क्लबले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘रक्षापंक्तिमा उनको कौशलता र स्कोरिङ शैली तारिफयोग्य छ।

भविष्यमा रोनाल्ड क्लबका महत्वपूर्ण खेलाडी हुनेमा हामी विश्वस्त छौं।’ जारी सिजनको स्पेनिस ला लिगामा रोनाल्ड २६ खेलमा खेलेका छन्। जसमा चार गोल रोनाल्डको नाममा छ। गत मार्चमा रियाल मड्रिडसँगको खेलमा बार्सिलोनाले ४–० को फराकिलो जित निकाल्दा रोनाल्डले टोलीका लागि ३८औं मिनेट गोल गरेका थिए।

प्रकाशित: १४ वैशाख २०७९ ०३:३८ बुधबार

रोनाल्ड बार्सिलोना