खेल

भूपेन्द्र फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

वसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको सेमिफाइलमा एपिएफका सोनम सार्कीलाई हराउँदै नेपाल पुलिस क्लबका बक्सर समेत रहेका भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन्। १३औं सागमा पनि उनले यसै तौल समूहमा स्वर्ण जितेका थिए। यही तौल समूहमा त्रिभुवन आर्मी क्लबका पुरन सुनारले लुम्बिनी प्रदेशका अनिल पुन मगरलाई हराउँदै भूपेन्द्रसँगको चुनौती पक्का गरेका छन्। वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ५२ केजी तौलसमूहमा आर्मीका प्रेम चौधरी र एपिएफका प्रदीप महर्जनले फाइनलमा स्थान बनाए।

प्रेमले पुलिसका चन्द्रबहादुर थापा र प्रदीपले मधेस प्रदेशका मदनकृष्ण डंगोललाई हराए। पुरुषकै ५७ केजीमा आर्मीका इन्द्र सुनारले पुलिसका शम्भु राजवंशी र एपिएफका पुरन राईले गण्डकी प्रदेशका सौगात कुमाललाई हराउँदै फाइनलमा स्थान बनाए। पुरुषकै ६९ केजी तौल समूहमा पुलिसका सनिल साही र आर्मीका दनबहादुर दर्लामीले उपाधि भिडन्त पक्का गरेका छन्। १३औं सागका स्वर्ण विजेता सनिलले सुदूरपश्चिम प्रदेशका भरत चन्द र दनबहादुरले बाग्मती प्रदेशका शिरीष खनाललाई पराजित गरे।

पुरुष ७५ केजीमा आर्मीका दीपेश लामाले मधेस प्रदेशका कोसिस श्रेष्ठ र प्रदेश–१ का सनम गुरुङले कर्णाली प्रदेशका दिलराज भण्डारीलाई हराउँदै फाइनलमा स्थान बनाए। ८१ केजी तौल समूहमा आर्मीका दीपक श्रेष्ठ र सुदूरपश्चिमका श्यामबहादुर महताले एक आपसमा चुनौती प्रस्तुत गर्ने भएका छन्। दीपकले प्रदेश–१ का प्रसाङ लिम्बु र श्यामले बाग्मती प्रदेशका रोसन स्याङ्तानलाई पराजित गरे। पुरषकै ९१ केजी तौलसमूहमा एपिएफका रविन नेपाल र आर्मीका गणेश प्रधानले भिडन्त पक्का गरे।

रविनले गण्डकी प्रदेशका किरण विक र गणेशले प्रदेश–१ का प्रसिश रुचाललाई स्तब्ध बनाए। महिलाको ५१ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्मा र आर्मीकी मीनु गुरुङले एक अर्कालाई चुनौती प्रस्तुत गर्ने भएका छन्। दिवानाले एपिएफकी सञ्जुमाया थिङ र १३औं सागकी स्वर्ण विजेता मीनुले लुम्बिनी प्रदेशकी माया खत्रीलाई हराइन्।

महिलाकै ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपिएफकी नङ्जा बुढामगर र पुलिसकी निशा तामाङले प्रदेश–१ की सुस्मिता राईलाई हराउँदै उपाधि भिडन्त पक्का गरे। महिला ६० केजीमा आर्मीकी संगीता दंगाल र एपिएफकी संगीता सुनारले फाइनलमा स्थान बनाए। दंगालले बाग्मतीकी शशीकला राई र सुनारले प्रदेश–१ की नारिका राईलाई हराए।

महिला ६९ केजी तौल समूहमा एपिएफकी विनीता थापामगरले लुम्बिनी प्रदेशकी जुनमाया थारु र आर्मीकी पुनम रावलले मधेस प्रदेशकी अपराजिता गोतानीलाई हराउँदै फाइनलमा स्थान बनाए। महिला ७५ केजी तौल समूहमा एपिएफकी सरस्वती राना र आर्मीकी निरु गुरुङ फाइनलमा पुगे। सरस्वतीले मधेसकी पूजा गुप्ता र निरुले प्रदेश–१ की त्रिशा लिम्बूलाई हराए।

प्रतियोगितामा पुरुषतर्फ ७ र महिलामा ५ गरी १२ स्पर्धा समावेश छन्। सातै प्रदेश र तीन विभागीय टोली आर्मी, प्रहरी र एपिएफ गरी १० टिमका १ सय २ खेलाडीकोे सहभागिता रहेको छ। प्रत्येक स्पर्धाका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने २ खेलाडीले समान ७ हजार ५ सय नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: १० वैशाख २०७९ ०२:१४ शनिबार

१३औं दक्षिण एसियाली खेलकुद (साग) वसन्तपुर डबली १३औं सागका स्वर्ण विजेता सनिल