खेल

संगम बी र सानो गौचरनबीच नाईन ए साईड उपाधि प्रतिस्पर्धा

पोखरा संगम बी र काठमाडौंको सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। पोखराको संगमले घरेलु टोली बगर भाइखलकलाई पराजित गर्दै फाईनल प्रवेश गर्दा सानो गौचरनले चितवन भेट्रानलाई पराजित गर्दै उपाधि निकट पुगेको हो।  

युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशाला फुटबल मैदानमा सञ्चालित प्रतियोगितामा अन्तर्गत सोमबार पहिलो सेमिफाईनलमा संगम बीले बगर भाइखलकलाई ३–१ गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो। संगमका लागि प्लेयर अफ दि म्याच नरेन्द्रजंग गुरुङले दुई तथा लालबहादुर खत्रीले एक गोल गरे। खत्रीको १९ औं मिनेटमा गरेको गोलबाट अग्रता लिएको संगमले ४३ र ४९ औं मिनेटमा नरेन्द्रको गोलसँगै फाईनल प्रवेश गरेको हो। बगर भाइखलकका लागि मनोज गुरुङले २७ औं मिनेटमा गोल फर्काएपनि हार टार्न सकेनन्।  

यसैगरी दोस्रो सेमिफाईनलमा शुक्र तामाङको दुई गोलमा सानो गौचरनले चितवन भेट्रानमाथि ३–०ले पन्छाउँदै फाईनल सुरक्षित बनायो। तेजबहादुर गलामीले २२ औं मिनेटमा गोल गर्दै दिलाएकोअग्रतामा शुक्रले ३८ र ४९ औं मिनेटमा थप दुई गोल गर्दै संगमीसँग उपाधि प्रतिस्पर्धा निश्चित बनाएका हुन्। उनी प्लेयर अफ दि म्याच घोषित भए।  

प्रतियोगितामा विजेता टोलीले नगद ३ लाख राशी सहित ट्रफी प्राप्त गर्ने छ। उपविजेताले १ लाख ५० हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक दिलबहादुर गुरुङले जानकारी दिए। त्यसैगरी सर्वोत्कृष्ठ खेलाडीले नगद २० हजार प्राप्त गर्ने छन्। उत्कृष्ठ स्ट्राईकर, सर्वाधिक गोलकर्ता, मिडफिल्डर, डिफेण्डर र गोलकिपरले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक गुरुङले बताए। सोमबार भएको दुई सेमिफाईनलिष्ट टोली नगद ३०/३० हजार रुपैयाँ प्राप्त गरे।

प्रकाशित: ५ वैशाख २०७९ १३:२० सोमबार