खेल

सागर थापाको टोली नाईन ए साईड भेट्रानको सेमिफाईनलमा

सागर थापा टाईब्रेकरमा चुकेपनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ। सानो गौचरनले फाईनल प्रवेशको लागि चितवन भेट्रानसँग सोमबार प्रतिस्पर्धा गर्ने छ।  

युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सानो गौचरनले काठमाडौंको फ्रिडम फाईटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चार पक्का बनायो। निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको पेनाल्टी बचाउ भएको थियो। नितिन गुरुङ, शुक्र तामाङ, यमु राना र जगत लामाको प्रहार गोलमा परिणत भएपछि सानो गौचरनले जित पक्का बनाएको थियो।  

फ्रिडम फाईटरका लागि राजकुमार घिसिङ, रमेश गुरुङ, विष्णु सुनारले पेनाल्टी सदुपयोग गरे। तर विक्रम श्रेष्ठ र मिलन राईको प्रहारले जाली चुम्न नसकेपछि फ्रिडम फाईटर बाहिरिन पुग्यो। निर्धारित समयमा सानो गौचरनका लागि तेजबहादुर गलामीले ३८ र ४१ औं मिनेटमा गोल गरे। फ्रिडमका लागि मिलन राईले पेनाल्टीमा गोल गर्दै दिलाएको अग्रतालाई विक्रम श्रेष्ठले ३० औं मिनेटमा अर्को गोल थपे। तर सानो गौचरनले पुनरागम गर्दै बराबरी गर्दै पेनाल्टीसुटआउटसम्म धकेलेको थियो।  

युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ सम्मिलित मनाङ मस्र्याङ्दी क्लबलाई पन्छाउँदै पोखराको संगमी बीले सेमिफाईनल सुरक्षित गर्यो। खेलको ४४ औं मिनेटमा विजय गुरुङले गोल गर्दै मनाङलाई १–० गोलले पराजित गरेको थियो। उनी खेलमा प्लेयर अफ दि म्याच घोषित भए। उता चितवन भेट्रानले पोखराको संगम एलाई ३–०ले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ।  

विरेन्द्रबहादुर पाण्डेले खेलको १० औं मिनेटमा गोल गर्दै दिलाएको अग्रतालाई सुरेन्द्र चौधरीले २० औं मिनेटमा दोब्बर बनाए। भरत गुरुङले खेलको ४० औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरको जित सम्भव बनाए। खेलमा राजेन्द्रकुमार श्रेष्ठ प्लेयर अफ दि म्याच घोषित भए। यसैगरी पोखराको बगर भाइखलकले काठमाडौंको जोरपाटीलाई ४–२ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ। 

मनोज गुरुङले २ र ४७ औं मिनेटमा गोल गरे। गंगा तामाङले ४३ र दिपक पुनले बगर भाइखलकका लागि १२ औं मिनेटमा गोल गर्दै सहज जित दिलाए। सजिन लामाले ३९ र रन्जित लामाले ५१ औं मिनेटमा गोल गरेका थिए। सोमबार बगर भाइखलकले घरेलु टोली संगम बीसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ।

प्रकाशित: ४ वैशाख २०७९ ११:३६ आइतबार