खेल

कास्की फुटबल संघः संघको गरिमा जोगाउन चुनौती

कास्की जिल्ला फुटबल संघ अधिवेशनको संघारमा छ। आगामी ७ गते अधिवेशन गर्दै नयाँ नेतृत्व आउने निश्चित छ। नयाँ नेतृत्वलाई कास्की जिल्लाको फुटबलको विकासमा चुनौतीको पहाड चढ्नुपर्ने छ। फुटबलमा हिजो बनाएको शाख र गरिमा जोगाउनुपर्ने छ। वर्तमान कार्यसमितिले धुमिल्याएको छविलाई सङ्ल्याउनुपर्ने चुनौती उत्तिकै छ। वर्तमान कार्यसमितिमा सुशासन र पारदर्शिता नहुँदा खराब संघ कहलिन पुगेको छ। न माईन्युट, न निर्णय नै छ। 

केवल एकल व्यक्तिको निर्णयले चारवर्षे कार्यकाल टुंगिन लागेको छ। कार्यसमितिका पदाधिकारी र सदस्य नै गुमनाम बने। कोषाध्यक्षले राजीनामा दिईसकेको अवस्था छ। जसले गर्दा अध्यक्षले एकल निर्णय गरेर काम गरे। ‘कास्की जिल्ला फुटबल संघको नेतृत्वले सोचे जस्तो काम गरेको अनुभूति गर्न सकेनौं। चेन्ज एन्फा भन्दै नारा दिईयो। केन्द्रमा चेन्ज भयो होला तर कास्की जिल्लामा परिवर्तन केही भएन,’ सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ(सुरज)ले भने, ‘कास्कीको फुटबल कमजोर अवस्था पुगेको छ। अब त्यसलाई बचाउने नेतृत्वको खाँचो छ।’ फुटबल विकास गर्ने योग्य अध्यक्ष चयन गर्नुपर्ने दायित्व र जिम्मेवारी क्लबहरुको काँधमा छ।

आर्थिक पारदर्शिता नहुँदा अखिल नेपाल फुटबल संघ(एन्फा) आफैंले छानविन गर्यो। छानविन समितिले रिपोर्ट पेश गर्यो। तर एन्फाले सार्वजनिक गरेन्। सार्वजनिक नहुँदा संस्थाको गरिमालाई अझ कमजोर बनाउने काम कार्यसमितिले गरेको क्लबहरुको ठहर छ। ‘वर्तमान कार्यसमितिबाट फुटबल विकासमा चित्तबुझ्दाे केही देखिएन। कोषाध्यक्षले राजीनामा दिएर बसेको अवस्था छ। यसले संस्थालाई कमजोर बनाईदिएको छ,’ कास्की अन्नपूर्ण गाउँपालिकास्थित ढिकुरपोखरीको एपेक्स क्लबका अध्यक्ष विकास गुरुङले भने, ‘फुटबल विकासको लागि राम्रो र योग्य मान्छे छान्नुपर्ने छ। त्यसको लागि सरसल्लाह गर्दैछौं।’ 

संघकै निर्वाचित उपाध्यक्ष विश्व तण्डुकारले पनि कार्यसमितिले काम गर्न नसकेको स्वीकार्छन्। उनले साथीभाइ बीच छलफल भएपनि कार्यसमितिको बैठकमा चुपचाप बस्दा एकल निर्णय लाद्न पुगेको प्रष्ट देखिएको बताए। ‘एकल व्यक्तिको निर्णयले फुटबल संघ चलाईयो। कार्यसमिति चुपचाप बस्यो,’ उनले भने, ‘कार्यसमिति चुपचाप बस्दाको हविगत अहिले देखिएको छ।’  

नयाँ नेतत्वको लागि तीन जना अध्यक्षमा आकांक्षी देखिएका छन्। २२ क्लब छन्। २२ क्लबले मतदान गरेर नयाँ नेतृत्व चयन गर्ने छन्। अध्यक्षको लागि विनोद गुरुङ, नविन पुन र उज्वल रन्जितको चर्चा छ। तीनैजना अध्यक्षमा भिड्ने आन्तरिक तयारीसहित लबिङमा छन्। नयाँ नेतृत्वले सुशासन र पारदर्शितालाई आत्मसात गर्नुपर्ने खाँचो छ। विनोद गार्डेन फुटबल क्लबका अध्यक्ष समेत हुन्। नविन पुन लोकतान्त्रिक खेलकुदका जिल्ला अध्यक्ष हुन्। नेपाल सेभेन ए साईड फुटबल फेडेरेशनका अध्यक्ष एवं साउथ एशियन सेभेन ए साईडका उपाध्यक्ष समेत हुन। उज्वल रन्जित आफैंमा पोखराका भरपर्दा फुटबलर हुन्। सक्षम र कुशल नेतृत्वकर्तारुपमा परिचित छन्। उनी पोखराका दोस्रो पुस्ताका अग्रज फुटबलरमा पर्छन्।  

संघका अध्यक्ष मिलन गुरुङले चारवर्षे कार्यकालमा आफूले केवल दुई वर्षमात्रै काम गर्न पाएको बताउँछन्। ‘दुई वर्ष कोभिडले खायो। दुई वर्षको अवधिमा मुख्यमन्त्री कप गरें। पोखरा रंगशालाभित्र वैकल्पिक फुटबल मैदान तयार गरियो,’ उनले भने, ‘आफुले दुःख पाएपनि फुटबल बचाउन लागिपरें।’ उनले आगामी ७ गते बुधबार अधिवेशनबाट राम्रो मान्छेलाई नेतृत्व हस्तान्तरण गरेर छोड्ने बताए।  

प्रकाशित: ४ वैशाख २०७९ ०९:३९ आइतबार

कास्की फुटबल संघ