खेल

म्याकडोनाल्ड अस्ट्रेलियाका प्रशिक्षक नियुक्त

क्रिकेट अस्ट्रेलियाले एन्ड्य्रु म्याकडोनाल्डलाई राष्ट्रिय पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। जस्टिन ल्याङ्गरले २ महिनाअघि अप्रत्याशित रूपमा अस्ट्रेलियाको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए।

ल्याङ्गरको बहिर्गमनपछि अन्तरिम प्रशिक्षकको जिम्मेवारी पाएका ४० वर्षे म्याकडोनाल्डसँग क्रिकेट अस्ट्रेलियाले चार वर्षको सम्झौता गरेको हो।

‘यो मेरा लागि निकै ठूलो अवसर हो र म उत्साही छु,’ म्याकडोनाल्डले भने, ‘यस जिम्मेवारीका लागि क्रिकेट अस्ट्रेलियाप्रति आभारी छु।’

उनकै प्रशिक्षणमा गत साता मात्र अस्ट्रेलिया पाकिस्तानविरुद्धको टेस्ट र ट्वान्टी–२० खेलको शृंखला जितेर फर्किएको थियो। ल्याङ्गरको प्रशिक्षणमा अस्ट्रेलियाले इङ्ल्यान्डविरुद्धको एसेस शृंखला ४–० ले जित्नुका साथै पहिलो पटक ट्वान्टी–२० विश्वकप क्रिकेटको उपाधि जितेको थियो। तर प्रमुख खेलाडीबाट साथ नपाएको भन्दै ल्याङ्गरले पदबाट राजीनामा दिएका थिए।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट दौरान तत्कालीन कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नर बल टेम्परिङ प्रकरणमा मुछिएपछि प्रतिबन्धमा परे। सो समयमा अस्ट्रेलियाली टोलीको स्वाभाविक लय फर्काउने श्रेय पनि ल्याङ्गरलाई नै जान्छ तर उनको प्रशिक्षण रणनीतिबारे खेलाडीले सार्वजनिक रूपमै विरोध गर्दै आएका थिए।

अस्ट्रेलियाको एकदिवसीय र ट्वान्टी–२० क्रिकेट टोलीका कप्तान एरोन फिन्चले म्याकडोनाल्डको प्रशिक्षण रणनीतिको प्रशंसा गर्दै उनको प्रशिक्षणमा टोलीले थप सफलता हात पार्ने विश्वास व्यक्त गरेका छन्।

‘म्याकडोनाल्ड निकै धैर्यवान् प्रशिक्षक हुन्। जस्तो सुकै परिस्थतिमा पनि उनी आत्तिदैनन्,’ फिन्चले भने।

क्रिकेट अस्ट्रेलियाले टेस्ट, एकदिवसीय र ट्वान्टी–२० गरी तीनवटै संरचनाको टोलीको प्रशिक्षण म्याकडोनाल्डले सम्हाल्ने बताएको छ।

‘म्याकडोनाल्डको प्रशिक्षणमा टोलीले सुखद नतिजालाई निरन्तरता दिने विश्वास छ,’ अस्ट्रेलियाको टेस्ट टोलीका पूर्वकप्तान माइकल क्लार्कले भने, ‘यद्यपि उनीमाथि दबाब भने छ। साथै कप्तान प्याट कमिङ्सले पनि दबाब महसुस गर्न सक्छन्।’

कमिङ्सले भने आफूले कहिल्यै पनि ल्याङ्गरको प्रशिक्षण शैलीको विरोध नगरेको दोहोर्‍याएका छन्। म्याकडोनाल्डले अस्ट्रेलियाबाट मात्र चार टेस्ट खेलेका छन्।

‘एन्ड्य्रु म्याकडोनाल्डले अन्तरिम प्रशिक्षकका रूपमा निकै राम्रो काम गरेका छन्,’ क्रिकेट अस्ट्रेलियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘टोलीमा उनको सधैं सकारात्मक प्रभाव रहँदै आएको छ। उनको प्रशिक्षणमा क्रिकेट अस्ट्रेलियाले थप सफलता हात पार्नेमा अशावादी छौं।’

प्रकाशित: २ वैशाख २०७९ ०३:२५ शुक्रबार

म्याकडोनाल्डको प्रशिक्षण अस्ट्रेलियाका प्रशिक्षक नियुक्त