खेल

प्रशिक्षण केही दिनमै: घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले केही दिनमै राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरिने बताएका छन्।

‘नेपालले अन्तर्राष्ट्रिय जगत्मा कस्तो प्रदर्शन गर्छ, त्यसले नै हाम्रो सफलताको मापन हुन्छ’, घिसिङले भने, ‘मैले मंसिरमा कार्यभार सम्हालेपछि विभिन्न योजना ल्याए पनि १६ दिन मात्र काम गर्न पाएँ। त्यसैले योजनाअनुरूप काम भएन। नेपाली खेलकुदका लागि यो अवधि सकसपूर्ण र पीडादायी भयो। यसले खेलकुद क्षेत्रमा अपूरणीय क्षति पुगेको छ। यो बीचमा नेपाली खेलकुद जति तीव्र रूपले अगाडि बढ्नुपर्थ्यो, त्यसमा अवरोध भएको छ। अब त्यो अवरोधलाई चिर्दै खेलकुदलाई चलायमान बनाउन अगाडि बढ्नेछु।’

‘एसियाली खेलकुद आउन मात्र ५ महिनाको समय बाँकी छ। हामी त्यसैलाई लक्षित गरेर राष्ट्रिय टोलीको प्रशिक्षण तत्काल सुरु गर्नेछौं,’ घिसिङले भने। मन्त्रिपरिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्यसचिवमा नियुक्त भएका थिए। राखेपका तत्कालीन सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारीबाट मुक्त गरेको र नयाँ सदस्यसचिव नियुक्त गरेको भन्दै घिसिङविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सो रिटउपर मंसिर ३० गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले सदस्यसचिव नियुक्ति प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन आदेश जारी गरेपछि सदस्यसचिव घिसिङ राखेपमा अनुपस्थित थिए। मन्त्रिपरिषद्को कात्तिक १ गतेको निर्णयले सदस्यसचिव सिलवाललाई जिम्मेवारी मुक्त गरेको थियो। चैत २२ गते सर्वोच्चका न्यायधीशद्वय अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालको रिट खारेज गरेपछि सदस्यसचिव घिसिङलाई काममा फर्कन बाटो खुलेको हो।

प्रकाशित: २४ चैत्र २०७८ ०१:३२ बिहीबार

राष्ट्रिय खेलकुद परिषद् (राखेप) राष्ट्रिय टोलीको प्रशिक्षण संयुक्त इजलास